काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निक्षेपको ब्याजदर पुनः घटाएको छ ।
पुस १ गतेदेखि लागू हुने गरी मंसिरको तुलनामा निक्षेपको ब्याजदर घटाएको हो ।
नेपाल बैंकमा कुनै व्यक्तिले मुुद्दति निक्षेपमा पैसा राख्दा पाइने रिटर्न घटेर अधिकतम ५.६० प्रतिशतमा सीमित बन्न पुगेको छ ।
नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फ २ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजदर ४.२० प्रतिशत, २ देखि ५ वर्ष अवधिका ४.९० प्रतिशत र ५ वर्षभन्दा माथि अवधिको ब्याजदर ५.६० प्रतिशत तोकिएको छ ।
संस्थागततर्फ २ वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ३ प्रतिशत, २ वर्षदेखि माथिको अवधिको ब्याजदर ४.७० प्रतिशत तोकिएको छ ।
बचत खातामा पाइने ब्याजदर अधिकतम ५ प्रतिशतसम्म रहेको छ । यसरी हेर्दा नेपाल बैंकको केही बचत खाताको ब्याजदर मुद्दतिको भन्दा बढेको देखिएको छ ।
मंसिरमा नेपाल बैंकले व्यक्तिगततर्फ २ वर्षे अवधिको ब्याजद ४.५५ प्रतिशत, २ देखि ५ वर्षे अवधिका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथि अवधिका लागि ५.९५ प्रतिशत तोकेको थियो । संस्थागततर्फ २ वर्षसम्मको ब्याजदर ३.११ प्रतिशत र २ वर्षभन्दा बढी अवधिको ४.९५ प्रतिशत थियो ।
मंसिरमा बचत खातामा पाइने अधिकतम ब्याजदर ५.०१ प्रतिशत थियो । रेमिटान्स खाताको अधिकतम ब्याजदर ६.०१ प्रतिशत थियो ।