काठमाण्डौ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ । जुन प्रायः बैंक तथा वित्तीय संस्थाहरुको भन्दा पनि कम रहेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्त सम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो ।
बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनम पूँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पूँजी कोष आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १४.९९ प्रतिशत रहेको छ । जुन आर्थिक वर्ष २०८०/८१ असार मसान्तमा १४.९३ प्रतिशत रहेको थियो । न्यूनतम पूँजीकोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पूँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पूँजीको अभाव नरहने देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रतिसेयर आम्दानी रु. १२, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत रहेको छ ।
साथै, डिजिटल बैंकिङ सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागत रुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गदै बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत रियल टाइममा नै मुद्धती खाता खोल्न सकिने, मुद्धती धितोको रसिदमा प्रवाह हुने कर्जाको माग गर्न सकिने, अनलाइनमार्फत नै केवाईसी फारम भर्न सकिने जस्ता सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                