काठमाण्डौ । अमेरिकी प्रतिबन्धबाट माथि उठ्दै अन्तराष्ट्रिय बजारमा पुनरागमन गर्न खोजिरहेको चिनियाँ स्मार्ट फोन निर्माता कम्पनी ‘हुवावे’ले तीनपटक फोल्ड गर्न मिल्ने,‘ट्रिफोल्ड’स्मार्ट फोन लञ्च गरेको छ । कम्पनीले मंगलबार चीनबाहिर ‘द मेट एक्सटी’ नामक यो फोन लञ्च गरेको हो ।
यो फोनको सुरुवाती मूल्य ३४९९ युरो(३६६० डलर) तोकिएको छ । कम्पनीले यो मोडल कुन देशहरुमा उपलब्ध हुने भन्ने विषयमा भने केही पनि खुलाएको छैन । कम्पनीले यसका लागि स्थानिय घोषणाहरु कुर्न भनेको छ । समाचार एजेन्सी सीएनबीसीले भने यो फोन साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा बिक्रीका लागि राखिएको जनाएको छ ।
यो फोन गत वर्ष पहिलोपटक चीनमा रिलिज गरिएको थियो । यो फोनले त्यसेबला तीनपटक फोल्ड गर्न मिल्ने विश्वको पहिलो फोनको रुपमा विश्वभर चर्चा बटुलेको थियो । सामान्य फोल्डेबल फोनहरु तेस्रो वा ठाडो एकपटक मात्रै फोल्ड गर्न मिल्ने खालका हुन्छन् । तर मेट एक्सटीमा दुईवटा यस्ता प्वइन्ट छन्, जहाँबाट डिस्प्ले स्क्रिनलाई एक, दुई वा तीनपटकसम्म फोल्ड गर्न सकिन्छ ।
हुवावे कुनैबेला विश्वको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रुपमा रहेको थियो । त्यसबेला कम्पनीले एप्पल र स्मार्टफोन जस्ता दिग्गज कम्पनीलाई चुनौति दिएको थियो । तर सन् २०१९ मा अमेरिकी प्रतिबन्ध पछि भने उन्नत चिप्स र गुगलको एन्ड्रोईड अपरेटिङ सिस्टममा कम्पनीको पहँुच बन्द भएको थियो । जसका कारण कम्पनीको बजार हिस्सामा व्यापक कमी आउन पुग्यो । यो बीचमा अन्य कम्पनीले हुवावेको स्थान लिन पुगे । चीन बाहिर कम्पनीको हिस्सा केवल ०.३ प्रतिशतमा खुम्चिएको छ ।
यद्यपी चीनमा भने कम्पनीको बजार हिस्सा सन् २०२४ मा १२ प्रतिशतबाट बढेर १७ प्रतिशत पुगेको छ । कम्पनीले सन् २०२३ मा उन्नत चीपसँग गरेको पुनरागमनका कारण बजारमा हिस्सामा सुधार आएको हो ।