काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमीटेडको अगुवाईमा माछापुच्छ्रे बैंक लिमीटेडसहित २ बैंकहरुले रु. ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलोपटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ ।
चैत १० गते आइतबारको दिन प्रवद्र्धक कम्पनी उपाय वेयर हाउजिङ्ग प्रा.लि. एवम् लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको छ । उक्त परियोजना काभ्रेको बनेपा नगरपालिकामा पर्ने नासिका स्थान साँगामा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करिब रु. १ अर्ब २० करोड ७ लाखमध्ये बैंकहरुले रु. ८५ करोड बराबरको आवधिक कर्जा(निर्माण अवधिको ब्याजबाहेक) बढीमा ८०ः२० को ऋण स्वपूँजी रहने गरी लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक इन्टरनेसनल लिमीटेडबाट रु. ६० करोड (आवधिक कर्जा रु. ५० करोड, बैंक ग्यारेण्टी सुविधा रु ५ करोड र क्यास क्रेडिट कर्जा रु ५ करोड) र माछापुच्छ्रे बैंकबाट रु. ३५ करोड (आवधिक कर्जा) लगानी हुनेछ भने बाँकी स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइनेछ । परियोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य रहेकोे छ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सहअगुवाई तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्फत जलविद्युत, हरित उर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको बताए ।
प्रवद्र्धक कम्पनी उपाय वेयरहाउजिङ्ग प्रा.लि.का तर्फबाट अध्यक्ष सुमन रायमाझीले आगामी दुई वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी तेस्रो पक्ष भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामाग्रीको आपूर्ति तथा प्रबन्ध सेवा, लेवलिङ सेवा, ढुवानी सेवा तथा अन्य सम्पूर्ण सेवाहरु प्रदान गरिने जानकारी दिए । कम्पनीले आवश्यक सरकारी सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरेर आयोजना निर्माण शुरु गरी समयमै सम्पन्न हुने विश्वास उनको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                