काठमाण्डौ । बुद्ध एयरको ७२ सिटे जहाजले काठमाण्डौ–भरतपुर परीक्षण उडान गरेको छ। काठमाण्डौबाट उडेको एटिआर–७२ जहाज बिहिबार बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको हो ।
धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन्। तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन। त्यसपछि पनि उडानलाई नियमित बनाउन एटिआर–७२ को परीक्षण गरिएको हो।
साना जहाज मात्रै चलिरहेको अवस्थामा छिट्टै ठुलो जहाज पनि सञ्चालन गर्ने तयारी भईरहेको बुद्ध एयरले जनाएको छ । बिहीबार परीक्षण उडान गरिएको जहाजले काठमाण्डौबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्न सक्ने अनुमान गरिएको छ ।
श्री एयरले पनि ८० सिट क्षमताको जहाजबाट काठमाण्डौ–भरतपुर उडान गर्दै आएको थियो। करिब १ महिनादेखि श्री एयरको उडान हुन सकेको छैन।