काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । ठकुरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ गरेको हो ।
यो बैंकको घोटाला प्रकरणमा प्रक्राउ पर्ने उनी दोस्रो व्यक्ति हुन् । यसअघि प्रहरीले यही प्रकरणमा बैंकका संस्थापक अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय पक्राउ गरेको थियो ।
नेपालगञ्जबाट पक्राउ परेका ठकुरीमाथि प्रहरीले बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान अघि बढाएको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान सीईओ र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा उक्त रकम अपचलन भएको तथ्य बाहिरिएको थियो ।
सेवाग्रहीहरुको बचत फिर्ता गर्न नसकिएका कारणहरु अध्ययन गर्न, बैंकको आर्थिक अवस्था विश्लेषण गर्न तथा आर्थिक हिनामिना भएको वा नभएको यथार्थ अवस्था विश्लेषण गर्न गत पुस ५ गते पाँच सदस्यीय विशेष छानविन समिति गठन भएको थियो ।
डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठन भएको उक्त समितिले विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई विगत केही वर्ष देखी अपचलनलाई लुकाइएको जनाएको थियो । यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।