काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको बताएका छन् । जसका कारण दुई देशबीच १२ दिनदेखि चलिरहेको युद्ध रोकिएको छ । राष्ट्रपति ट्रम्पले सोमबार आफ्नो ट्रुथ सोशलमा एक पोस्टमा इजरायल र इरान युद्धविराम हुनेमा पूर्ण रूपमा सहमत भएको बताएका छन्।
ट्रम्पको घोषणा वा यसको समयको बारेमा इजरायल र इरानबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा मंगलबार मध्यरातबाट २४ घण्टाको चरणबद्ध युद्धविराम सुरु हुने बताएका छन् । यसले दुवै देशलाई आफ्नो अन्तिम मिसन पूरा गर्न ६ घण्टा समय दिनेछ। उनले त्यसबेला इरानले आक्रमण रोक्ने र १२ घण्टापछि इजरायलले पनि आक्रमण रोक्ने बताए । ज्ञद्द घण्टा पछि युद्ध पूर्ण रूपमा समाप्त भएको मानिन्छ।
डोनाल्ड ट्रम्पको तर्फबाट भनिएको छ, ‘आधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२ औं घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ र २४ औं घण्टामा १२ दिने युद्धको औपचारिक अन्त्य हुनेछ। प्रत्येक युद्धविरामको समयमा अर्को पक्ष शान्तिपूर्ण र सम्मानजनक रहनेछ। म इजरायल र इरान दुवै देशलाई बधाई दिन चाहन्छु ।’
डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्ध वर्षौंसम्म चल्न सक्ने र सम्पूर्ण पश्चिम एसियालाई ध्वस्त पार्न सक्ने तर त्यसो भएन र कहिल्यै नहोला भन्ने आशा राखेको बताए । ट्रम्पको घोषणा पछि, रिपब्लिकन यूएस हाउसका अध्यक्ष माइक जोनसनले यो वास्तवमा एक उल्लेखनीय उपलब्धि भएको बताए ।
इरान र इजरायलबीचको लडाई जुन १३ मा सुरु भएको थियो । इरानको आणविक कार्यक्रम अन्त्य गर्ने भन्दै इजरायलले यो आक्रमण गरेको हो । त्यसपछि इरानले पनि इजरायलमा लगातार मिसाइल आक्रमण गरेको थियो ।
दुई देशबीच विगत १२ दिनदेखि लगातार लडाइँ भएको थियो र यस अवधिमा दुवैतर्फ ठूलो क्षति भएको छ । डोनाल्ड ट्रम्पको दाबी अनुसार अब यो लडाई रोकिने छ । मंगलबार रातिदेखि युद्धविराम सुरु भएको र २४ घण्टामा अर्थात बुधबार रातिसम्म पूर्ण युद्धविराम हुनेछ ।