काठमाण्डौ । फ्रान्सको एयर ट्राफिक कन्ट्रोलको हडतालका कारण हजारौं यात्रुले समस्या भोगेका छन् । यस हड्तालका कारण बिहीबार र शुक्रबार फ्रान्समा धेरै उडानहरू रद्द भएका छन् । जसको असर युरोपका अन्य भागहरूमा पनि परेको छ।
कम लागतको वायुसेवा कम्पनी रायनएयरले ३० हजारभन्दा बढी यात्रुको बिदाको योजना प्रभावित भएपछि १७० भन्दा बढी उडान रद्द गर्नुपरेको जनाएको छ ।
दुई फ्रान्सेली युनियनहरूले कामको अवस्थालाई लिएर दुई दिने हडतालमा जाँदैछन्, जसका कारण पेरिसका मुख्य एयरपोर्टहरूमा एक चौथाई उडानहरू र नाइस एयरपोर्टमा आधा उडानहरू रद्द भएका छन्।
फ्रान्सेली यातायात मन्त्री फिलिप ताबेरोटले युनियनहरूको माग र यस महत्त्वपूर्ण छुट्टीको अवधिमा हडताल गर्ने निर्णयलाई अस्वीकार्य भनेका छन्।