काठमाण्डौ । रिलायन्स इन्डस्ट्रीज लिमिटेड भारतको सबैभन्दा ठूलो र विविधिकृत व्यवसाय भएको कम्पनी हो । भारतीय धनाढ्य मुकेश अम्बानीको यो कम्पनीले उर्जा,पेट्रोकेमिलक,दुरसञ्चार,रिटेल,मिडिया र डिजिटल सर्भिसेस जस्ता क्षेत्रहरुमा व्यवसाय गर्दै आएको छ ।
रिलायन्स इन्डस्ट्रीज धीरुभाई अम्बानीले स्थापना गरेको कम्पनी हो । उनले एउटा सानो व्यापारीको रुपमा यात्राको थालनी गर्दै भारतमा आफ्नो व्यवसायको साम्राज्य खडा गरेर भारतको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका थिए ।
वर्तमान समयमा रिलायन्स इन्डस्ट्रीजलाई धीरुभाईका जेठा छोरा मुकेश अम्बानीले नेतृत्व गरिरहेका छन् । मुकेश पनि भारतको सबैभन्दा धनाढ्य तथा विश्वको १० औं धनी व्यक्ति हुन् ।
सन् २०१९ जुन ३० सम्म रिलायन्समा मुकेश अम्बानी र उनको निजी कम्पनीहरुको ४७.२९ प्रतिशत स्वामित्व रहेको थियो । तर अहिले यो वृद्धि भएर ४८.८७ प्रतिशत पुगेको छ । रिपोर्टका अनुसार कम्पनीमा मुकेश अम्बानीको व्यक्तिगत ७५ लाख कित्ता अर्थात ०.१२ प्रतिशत स्वामित्व छ ।
मुकेश अम्बानीका भाई अनिल अम्बानीको रिलायन्स इन्डस्ट्रीजमा कुनै प्रत्यक्ष स्वामित्व छैन । सन् २००५ मा व्यवसाय बाँडफाँड भएपछि अनिलले रिलायन्स ग्रुपको नेतृत्वको जिम्मेवारी पाएका थिए ।
मुकेश अम्बानीकी श्रीमिती निता अम्बानी रिलायन्स फाउण्डेशनको संस्थापक तथा अध्यक्षको रुपमा रहेकी छिन् । यसका साथै उनी रिलायन्स इन्डस्ट्रीजको बोर्डको डाइरेक्टर समेत छिन् । निताको पनि रिलायन्स इन्डस्ट्रीजमा ०.१२ प्रतिशत स्वामित्व रहेको छ ।
मुकेश अम्बानीका तीन सन्तान आकाश,इशा र अनन्त पनि रिलायन्स इन्डस्ट्रीजको विभिन्न व्यवसायमा संलग्न छन् । आकाश र इशा रिलायन्स इन्डस्ट्रीजको टेलिकम सहायक कम्पनी रिलायन्स जियो इन्फोकमको डाइरेक्टर हुन् ।
यस्तै अनन्त पनि रिलायन्स रिटेल भेन्चरको डाइरेक्टर हुन् । यी तीनैजनाको रिलायन्स इन्डस्ट्रीजमा समान ०.१२ प्रतिशत स्वामित्व रहेको छ ।
यद्यपी रिलायन्स इन्डस्ट्रीजमा सबेभन्दा धेरै स्वामित्व भने न त मुकेश अम्बानीको छ न त उनकी पत्नी वा उनका छोराछोरीको नै । कम्पनीमा सबैभन्दा धेरै स्वामित्व धीरुभाई अम्बानीकी श्रीमती अर्थात मुकेश अम्बानीकी आमा कोकिलावेन अम्बानीको छ । कम्पनीमा उनको ०.२४ प्रतिशत स्वामित्व छ । उनको नाममा कम्पनीको १.५७ करोड कित्ता सेयर छ ।
कम्पनीको दैनिक सञ्चालनमा कोकिलावेनको प्रत्यक्ष संलग्नता नरहेपनि अम्बानी परिवारमा उनको प्रभावलाई नजरअन्दान भने गर्न सकिदैन । सन् २००५ मा दुई छोराबीच भएको व्यवसायिक पारिवारिक कलहलाई साम्य पार्न उनले मध्यस्तकर्ताको महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले त्यसबेला दुई छोरा मुकेश र अनिललाई व्यवसायको बाँडफाँड गरेकी थिइन् । -एजेन्सी