काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकको घाटा २८४.०१ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा बढेको देखिएको हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म १६ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको घाटा बढेर ६३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खूद कर्जा आम्दानी समेत घटेको छ । बैंकको खूद कर्जा आम्दानीबापत २ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म बैंकको खूद ब्याज आम्दानी ३ करोड १३ लाख रुपैयाँ थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५३ लाख रुपैयाँ थियो ।
बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३८ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको खराब कर्जा अनुपातमा व्यापक वृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २७.७५ प्रतिशत रहेको छ । जुन गन आर्थिक वर्षको सोहि अवधिसम्म २.८३ प्रतिशत थियो ।
बैंकको प्रतिसेयर आम्दानी २४.३३ रुपैयाँ ऋणात्मक छ । यस्तै मूल्य आम्दानी अनुपात पनि १७.०३ गुणा ऋणात्मक देखिएको छ ।
बैंकको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१६.८ रुपैयाँ,तरलता अनुपात २८.६५ प्रतिशत,प्रतिसेयर नेटवर्थ १५.४७ र पूँजीकोषको अनुपात ९.४६ प्रतिशत कायम भएको छ ।