काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घूसपैठका कारण बानेश्वर घटना भएको दलिल पेश गरेका छन् ।
सोमबार राति एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घूसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद परिस्थिति उत्पन्न भएको दाबी गरेका हुन् ।
'जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो ।' ओलीले अगाडि भनेका छन् - 'प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो ।'
उनले आजको प्रदर्शनको क्रममा नागरिकहरुले ज्यान गुमाउनु परेकोमा आफू अत्यन्तै दुःखी भएको बताएका छन् । 'यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनु भएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ ।' उनले भनेका छन् -'आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानविन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु।'