काठमाण्डौ । देशमा सामाजिक उद्यमशीलताको सशक्त विकासका लागि नबिल बैंकले सुरु गरेको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)’ कार्यक्रम निरन्तर प्रभावकारी बन्दै गएको छ । विशेषगरी, स्वदेशमै रहेर केही नवीन उद्यम सुरु गर्ने लक्ष्य राखेका युवाहरूमाझ यो कार्यक्रम आशाको स्रोतका रूपमा स्थापित हुँदै गएको छ ।
सन् २०२१ बाट सुरु गरिएको यस फेलोसिप कार्यक्रममार्फत हजारौँ युवाहरू सामाजिक उद्यमशीलताप्रति आकर्षित भएका छन् । नबिल बैंकले उद्यमशील सोच, नवीन विचार र समाजप्रतिको दायित्वबोध भएका नवउद्यमीहरूलाई आवश्यक ज्ञान, सीप र मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले यो अभियान सुरु गरेको हो । आज यो कार्यक्रम देशका युवाहरूका बीचमा परिचित मात्र नभई, सामाजिक रूपान्तरणको वास्तविक माध्यमका रूपमा स्थापित भइसकेको छ ।
गरिबी निवारण र सशक्तीकरणमा ठोस योगदान पुर्याउने लक्ष्यका साथ सञ्चालन भएको यो कार्यक्रमले हालसम्म पाँच संस्करण सम्पन्न गरी छैटौँ संस्करणका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन र समावेशी आर्थिक विकासमा योगदान पुर्याउने सोच भएका व्यक्तिहरूका लागि यो कार्यक्रम खुला गरिएको छ ।
बैंकका अनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिकहरूले कात्तिक २८ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार यस वर्षदेखि कार्यक्रमलाई गरिबी निवारण, सशक्तीकरण र दिगो विकासको राष्ट्रिय लक्ष्यसँग जोडिएको छ ।
उनका शब्दमा, “मुलुकको समग्र विकासका लागि सामाजिक उद्यमीहरूको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । नबिल एसएसईअन्तर्गतका कार्यक्रमहरूले उपलब्ध स्रोतलाई रणनीतिक रूपमा परिचालन गर्दै पछाडि पारिएका समुदायसम्म पुग्ने, वित्तीय नवप्रवर्तन प्रवद्र्धन गर्ने र रोजगारी सृजनामा योगदान पुर्याउने दिशा लिएका छन्,” ज्ञवालीले बताए
नबिल एसएसईका प्रमुख कार्यक्रमहरू
नबिल एसएसईअन्तर्गत दुई प्रमुख कार्यक्रमहरू सञ्चालनमा छन् - फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स ।
हाल बैंकले फेलोसिप कोर्सको छैटौँ समूहका लागि आवेदन खुला गरेको छ । यो छ महिनाको कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँग सहकार्यमा सञ्चालन हुँदै आएको छ ।
फेलोसिप कार्यक्रम
यो कार्यक्रम स्टार्टअप तथा नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूलाई लक्षित गरिएको हो । सहभागीहरूले ६ महिनासम्म विश्वस्तरीय तालिम, मेन्टरसिप, नेटवर्क विस्तार र वित्तीय पहुँचको अवसर पाउँछन् । हालसम्म ७६ जना सहभागी भइसकेका छन्, जसबाट ६२ वटा उद्यम सञ्चालनमा छन् ।
सर्टिफिकेट कोर्स
तीन महिनाको अवधिको यो कार्यक्रम सातै प्रदेशमा विभिन्न शैक्षिक संस्थाहरूको सहकार्यमा सञ्चालन भइरहेको छ ।
हाल यो कोर्स:
-कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस,
-मधेसमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल,
-बागमतीमा क्याम्पियन कलेज,
-लुम्बिनीमा क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडल कलेज,
-कर्णालीमा सुर्खेत मोडल कलेज,
-र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमी मा सञ्चालन भइरहेको छ ।
बैंकका अनुसार यो कार्यक्रमले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँदै हालसम्म एक हजार ६९ जनाले प्रत्यक्ष लाभ लिइसकेका छन् ।
प्रदेशअनुसारका प्राथमिकता क्षेत्र
यो वर्षदेखि नबिल बैंकले प्रत्येक प्रदेशका लागि फरक–फरक विषयगत प्राथमिकता निर्धारण गरेको छ :
1️⃣ कोशी प्रदेश – उच्च मूल्य बाली (इलायची, अदुवा, बेसार, किवी आदि) मार्फत उद्यम प्रवद्र्धन
2️⃣ मधेश प्रदेश – खेतीदेखि बजारसम्मको मूल्य शृंखला उद्यम विकास
3️⃣ बागमती प्रदेश – डिजिटल नवप्रवर्तन र हरित उद्यम विकास
4️⃣ गण्डकी प्रदेश – सामुदायिक होमस्टे र पर्यटन प्रवद्र्धन
5️⃣ लुम्बिनी प्रदेश – एग्रो भ्यालु चेन, धार्मिक पर्यटन र सांस्कृतिक उद्यमशीलता
6️⃣ कर्णाली प्रदेश – मौरीपालन, बाँस तथा जडीबुटीजन्य पर्वतीय उद्यम प्रवद्र्धन
7️⃣ सुदूरपश्चिम प्रदेश – ग्रामीण पर्यटन र पशुपालन उद्यम विकास
फेलोशिप कार्यक्रमबारे विस्तृत जानकारी
नबिल एसएसई फेलोशिप कार्यक्रमको मूल उद्देश्य गरिबी निवारण र सामाजिक समावेशका लागि दिगो समाधान सिर्जना गर्ने सामाजिक उद्यमीहरूलाई विकास गर्नु हो । यसले समाजमा ठोस परिवर्तन ल्याउने सम्भावना भएका उद्यमहरूलाई प्राथमिकता दिन्छ ।
कार्यक्रम महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका र दुर्गम क्षेत्रका युवाहरूका लागि विशेष अवसरको रूपमा रहेको छ ।
मुख्य उद्देश्यहरू
-नवप्रवर्तनात्मक सामाजिक विचारका लागि मञ्च प्रदान गर्न
-सामाजिक उद्यमीहरूलाई नेतृत्व र समस्या समाधान क्षमतासहित विकास गर्न
-वित्तीय स्रोत र बजार पहुँच सहज बनाउन
-रोजगारी सिर्जना गर्दै गरिब र वञ्चित समुदाय सशक्त पार्ने समावेशी उद्यमलाई समर्थन गर्न
तालिमको संरचना
यो छ महिनाको आवासीय कार्यक्रम हो, जसमा सहभागीहरूले निःशुल्क बसोबास र सिकाइका सबै स्रोतमा पहुँच पाउँछन् । सम्पूर्ण तालिमलाई ६ चरणमा विभाजन गरी सञ्चालन गरिन्छ । तालिम सत्रहरूमा उद्यमशीलता, वित्त, सामाजिक प्रभाव र सामुदायिक विकासका विज्ञहरूद्वारा प्रशिक्षण प्रदान गरिन्छ ।
सहभागीले पाउने सुविधा
-व्यावहारिक तालिम र फिल्ड भिजिट
-अनुभवी उद्यमीहरूको मेन्टरसिप
-विशेषज्ञहरूको नेटवर्कमा पहुँच
-सहसिकाइ र समूहगत अनुभव आदानप्रदान
-वित्तीय पहुँच र लगानी अवसर
कार्यक्रमको प्रभाव
हालसम्म फेलोसिप कार्यक्रमले ७६ जना उद्यमीलाई तालिम दिएको छ, जसबाट ६२ उद्यम स्थापन भएका छन् । यी उद्यमहरूले १,१७२ प्रत्यक्ष र १३,२९५ अप्रत्यक्ष रोजगारी सिर्जना गरेका छन् । पाँचौँ ब्याचमा २० जना सहभागी छन्, जसले स्थानीय अर्थतन्त्र र रोजगारी सृजनामा प्रत्यक्ष योगदान पुर्याइरहेका छन् ।
आवेदन प्रक्रिया
इच्छुक उम्मेदवारहरूले नबिल बैंकको वेबसाइट वा नबिल एसएसईको सामाजिक सञ्जालमार्फत आवेदन दिन सक्नेछन् । गूगल फारम डाउनलोड गरी [email protected] मा पठाउन पनि सकिन्छ । छनोट समितिले मापदण्डका आधारमा आवेदन मूल्याङ्कन गरी अन्तर्वार्ताबाट अन्तिम चयन गर्छ ।
वित्तीय सहयोग
योग्य फेलोजहरूले नबिल बैंकको ऋण योजना तथा साझेदार संस्थाहरूको लगानी सहयोग प्राप्त गर्न सक्छन् । कार्यक्रम पूर्ण रूपमा निःशुल्क छ र सहभागीहरूको बसोबास तथा सिकाइ सम्बन्धी सम्पूर्ण खर्च बैंकले व्यहोर्छ । सहभागीहरूले केवल यातायात खर्च स्वयम् बेहोर्नुपर्नेछ ।
समूह सहभागिता र निरन्तर सम्बन्ध
फेलोसिपका लागि व्यक्तिगत रूपमा आवेदन दिन सकिन्छ, तर समूहमा सञ्चालित उद्यमका हकमा एक प्रतिनिधि सहभागी हुन सक्छन् । साथै, नबिल एसएसईले आफ्ना पूर्व–फेलोजहरूका लागि निरन्तर कार्यशाला र नेटवर्किङ कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ, जसले सामाजिक प्रभाव विस्तारमा सहयोग पुर्याइरहेको बैंकको विश्वास छ ।
प्रमाणपत्र पाठ्यक्रमका लागि आवेदन
इच्छुकले नजिकको साझेदार कलेजमा सम्पर्क गरी आवेदन अवधि भित्र आवेदन बुझाउन सक्छन् । छनोट सूचीमा परेका उम्मेदवारहरू अन्तर्वार्तापछि सहभागी हुन सक्नेछन् ।
नबिल बैंकको प्रतिबद्धता
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो, जसले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशभर सकारात्मक परिवर्तन ल्याउने अभियानहरू सञ्चालन गर्दै आएको छ ।
बैंकले वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा विशेष प्राथमिकता दिएको छ ।
यसै प्रयासबाट हजारौँ नागरिकको जीवनस्तरमा सुधार आएको छ र देशमा सामाजिक उद्यमशीलताको नयाँ अध्याय सुरु गर्न नबिल बैंक अग्रणी रूपमा अगाडि बढेको छ ।
“सशक्त उद्यमी-समावेशी समाज, दिगो विकास : यही हो नबिल एसएसईको लक्ष्य।”

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                