काठमाण्डौ । लामो समयदेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुलाई अर्थमन्त्रालयले आज छलफलका लागि बोलाउने भएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले बिजशालासँग कुरा गर्दै सम्बन्धित महाशाखाका अधिकारीहरुलाई लामो समयदेखि ठप्प बनेको सेबोनको आन्दोलनलाई टुंग्याउन निर्देशन दिइसकिएको र आज आन्दोलनरत कर्मचारीका प्रतिनिधिलाई छलफलका लागि मन्त्रालयमा बोलाइएको जानकारी आफूले पाएको बताए ।
'लामो समयदेखि ठप्प बनेको धितोपत्र बोर्डको कामकाज तत्काल खोल्नुपर्छ भन्ने कुरामा म पनि गम्भीर छु । जनताको काम यसरी ठप्प हुनुहुँदैन । यो गलत भयो ।' अर्थमन्त्री खनालले भने- 'यसकै लागिसाथीहरुले आज आन्दोलनरत कर्मचारीहरुलाई मन्त्रालय बोलाउनुभएको जानकारी आएको छ । आज र भोलिमा केही न केही निकास आउला ।'
उनले सम्बन्धित महाशाखाले इमेलमार्फत धितोपत्र बोर्डमा हालसम्म पेण्डिङमा रहेका काम तथा पछिल्लो प्रगति विवरण समेत माग गरिएको र त्योसहित उपस्थित हुन बोर्डको नेतृत्वलाई समेत खबर गएको हुनसक्ने अनुमान गरे ।
अर्थमन्त्रालयले सेबोनमा भइरहेको कर्मचारी आन्दोलनको समाधानका लागि अन्तिम समयमा पुनः एकपटक गम्भीरतापूर्वक प्रयास गर्ने र समस्या समाधानका लागि नेतृत्व अब पनि गम्भीर भएन र यसअघिको कार्यशैलीमा सुधार ल्याएन भने एक्सनमा जानेसम्मको तयारी हुनसक्ने उनले चेतावनी दिए ।
'अब पुनः एकपटक मन्त्रालयले पनि गम्भीरतापूर्वक समस्या समाधानमा सहयोग गर्छ । सेबोन नेतृत्वले पनि समन्वयकारी भूमिका खेल्नुपर्छ । सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ अब सुध्रिन्छु भनेर आउनुपर्छ ।' अर्थमन्त्री खनालले भने- 'अब पनि सुध्रिएनन् भने दुई–तीन दिनमै स्पष्टीकरण सोधिनेछ । त्यसपछि आवश्यक कारबाहीका लागि प्रक्रियाहरु अगाडि बढ्नेछन् ।'

