काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरू आधिकारिक कर्तव्यअनुसार कर्जा असुली कार्यमा खटिएको समयमा सार्वजनिक स्थलमै अमानवीय, अपमानजनक र गैरकानुनी व्यवहारको सिकार बनेको घटनाप्रति एनआई सी एशिया बैंक कर्मचारी संघले कडा आपत्ति जनाएको छ। संघले यस घटनालाई कायरतापूर्ण आक्रमणको संज्ञा दिँदै गम्भीर ध्यानाकर्षण गराएको हो।
संघका अनुसार कानुनी दायराभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका बैंक कर्मचारीमाथि हुने यस्ता हिंसा र सार्वजनिक अपमान केवल व्यक्तिगत आक्रमण मात्र नभई सम्पूर्ण बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष हमला हो। बैंकिङ सेवा कानुनद्वारा संरक्षित अत्यावश्यक सार्वजनिक सेवा भएको र कर्जा असुली प्रक्रिया बैंकिङ प्रणालीको अभिन्न अङ्ग भएको भन्दै संघले डर, धम्की, दुव्र्यवहार वा हिंसाबाट यस्तो प्रक्रिया अवरुद्ध गर्नु दण्डनीय अपराध भएको स्पष्ट पारेको छ।
संघले यस घटनाले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा गम्भीर संकट सिर्जना गर्नुका साथै सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बन्ने जोखिम बढेको जनाएको छ। विगतमा पनि बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी लक्षित आक्रमण हुँदै आएको स्मरण गराउँदै संघले समयमै सम्बन्धित निकायको कडा हस्तक्षेप नहुने हो भने बैंकिङ सेवामा आबद्ध कर्मचारीहरू एकताबद्ध भई सेवा अवरुद्ध हुन सक्ने गम्भीर अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको छ।
एनआई सी एशिया बैंक कर्मचारी संघले नेपाल सरकारका अर्थ मन्त्रालय र गृह मन्त्रालय, नियामक निकाय नेपाल राष्ट्र बैंक, सुरक्षा निकाय नेपाल प्रहरी, नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, बैंक तथा वित्तीय संस्था परिसंघलगायत सबै सरोकारवाला निकायलाई तत्काल र प्रभावकारी हस्तक्षेप गर्न आग्रह गरेको छ। साथै, यस्ता घटनाको पुनरावृत्ति रोक्न बैंक कर्मचारीको सुरक्षाका लागि स्पष्ट सुरक्षा मापदण्ड, फाँटमा खटिँदा प्रहरी समन्वय र जोखिमयुक्त कार्यमा संस्थागत संरक्षणको सुनिश्चितता गर्नुपर्ने माग अघि सारेको छ।
संघले बैंक तथा वित्तीय संस्थामा आबद्ध सम्पूर्ण कर्मचारी संघ र युनियनलाई पनि कर्मचारीको हकहित र सुरक्षाका लागि एकताबद्ध हुन आह्वान गरेको छ। दोषी पहिचान गरी कानुनअनुसार कडा कारबाही सुनिश्चित गर्न, बैंक कर्मचारीको भौतिक तथा मानसिक सुरक्षाको प्रत्याभूति दिन र भविष्यमा यस्ता आपराधिक गतिविधि दोहोरिन नदिन ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्न संघले जोड दिएको छ।
संघका अध्यक्ष सुमन थापाले बैंकिङ सेवामाथि गरिने कुनै पनि प्रकारको धम्की, दुव्र्यवहार वा हिंसा अस्वीकार्य भएको स्पष्ट गर्दै बैंक कर्मचारीहरू श्रमिक हुन्, अपराधी होइनन् भन्ने सन्देश दिएका छन्। उनले कानुनको शासन, संस्थागत मर्यादा र कर्मचारीको गरिमाको संरक्षण सबैको साझा दायित्व भएको बताए।

