काठमाण्डौ । आजको डिजिटल युगमा इन्टरनेट हरेक घरको आधारभूत आवश्यकता बनिसकेको छ। मोबाइल डेटा सीमित हुने भएकाले धेरैजसो प्रयोगकर्ताले घरमा वाइफाइ राउटर जडान गरेका छन्। स्मार्ट टिभी, स्मार्ट लाइट, सुरक्षा क्यामेरा तथा ‘वर्क फ्रम होम’ गर्नेहरू पूर्ण रूपमा इन्टरनेटमा निर्भर छन्। तर, विद्युत आपूर्ति बन्द भएमा राउटर बन्द हुने र इन्टरनेट सेवा अवरुद्ध हुने समस्या सामान्य भइसकेको छ। यस्तो अवस्थामा मिनी डीसी यूपीएस प्रभावकारी समाधानको रूपमा देखिएको छ।
मिनी डीसी यूपीएस के हो ?
मिनी डीसी यूपीएस राउटर र अन्य साना डीसी उपकरणका लागि विशेष रूपमा डिजाइन गरिएको सानो ब्याट्री ब्याकअप डिभाइस हो। यो उपकरण विद्युत आपूर्ति रहँदा आफैं चार्ज हुन्छ र बत्ती गएपछि कुनै ढिलाइ बिना ब्याट्रीबाट पावर दिन सुरु गर्छ। यसका कारण राउटर बन्द नहुने र इन्टरनेट सेवा निरन्तर चलिरहन्छ।
यो डिभाइस केवल राउटरका लागि मात्र नभई मोडेम, सुरक्षा क्यामेरा लगायत अन्य कम पावर खपत गर्ने डीसी उपकरणहरूमा पनि प्रयोग गर्न सकिन्छ। सामान्यतया, राउटरको पावर प्रयोग अनुसार ४ देखि ८ घण्टासम्म ब्याकअप दिन सक्छ।
मिनी डीसी यूपीएसका मुख्य विशेषता
मिनी डीसी यूपीएसमा ५, ९ र १२ भोल्ट जस्ता विभिन्न आउटपुट पोर्टहरू उपलब्ध हुन्छन्, जसले विभिन्न प्रकारका उपकरणहरू जडान गर्न सजिलो बनाउँछ। एकैपटक धेरै डिभाइस जोड्न सकिने सुविधा पनि यसमा हुन्छ। ब्याट्रीको स्तर देखाउने इन्डिकेटर, स्वचालित चार्जिङ प्रणाली, बत्ती गएपछि आफैं अन हुने प्रणाली र केही मोडेलमा मोबाइल चार्ज गर्न मिल्ने यूएसबी पोर्ट समेत उपलब्ध हुन्छ।
सानो आकार र हलुका तौलका कारण यो डिभाइस राउटरको छेउमै सजिलै राख्न वा आवश्यक परे अन्यत्र लैजान पनि सकिन्छ।
मूल्य र उपलब्धता
मिनी डीसी यूपीएसको मूल्य ब्याट्री क्षमता, साइज र उपलब्ध पोर्टहरूको आधारमा फरक पर्न सक्छ। विद्युत आपूर्ति बारम्बार अवरुद्ध हुने क्षेत्रमा बसोबास गर्ने प्रयोगकर्ताका लागि यो डिभाइस निकै उपयोगी मानिन्छ।
सुरक्षा कत्तिको भरपर्दो ?
मिनी डीसी यूपीएसमा शर्ट सर्किट, ओभरभोल्टेज, ओभरचार्ज र अत्यधिक डिस्चार्जबाट जोगाउने सुरक्षा प्रणाली जडान गरिएको हुन्छ। यसले राउटर वा अन्य जडित उपकरणलाई कुनै क्षति नपुग्ने सुनिश्चित गर्छ। लगातार २४ घण्टा प्लगमा राखेर प्रयोग गर्न मिल्ने यो डिभाइस लामो समयसम्म टिकाउ हुने गुणस्तरीय ब्याट्रीसहित उपलब्ध हुन्छ।
विद्युत कटौतीका कारण इन्टरनेट सेवा अवरुद्ध हुने समस्या समाधान गर्न चाहने प्रयोगकर्ताका लागि मिनी डीसी यूपीएस व्यवहारिक, सुरक्षित र किफायती विकल्पको रूपमा स्थापित हुँदै गएको छ।

