काठमाण्डौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि सातै प्रदेशमा ४४६ जना शिक्षकको माग गरेको छ। आयोगले सोमबार जारी गरेको विज्ञापनअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, कार्यालय सञ्चालन तथा लेखा, स्वास्थ्य तथा शारीरिक शिक्षा, कम्प्युटर विज्ञान, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, सिद्धान्त ज्योतिष र फलित ज्योतिष विषयमा शिक्षक पद खुला गरिएको छ।
आवेदन दिन इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षा दस्तुर सामान्यतया १ हजार रुपैयाँ तोकिएको छ भने समावेशी समूहका उम्मेदवारका लागि ६०० रुपैयाँ थप दस्तुर लाग्नेछ।
योग्यता पुगेका नेपाली नागरिकले फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर आवेदन दिने अन्तिम म्याद फागुन १० गतेसम्म तोकिएको छ।

