काठमाण्डौ । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेसँगै गगन थापा नेतृत्वको कांग्रेसलाई संगठनात्मक गतिविधि अघि बढाउन कानुनी अवरोध हटेको छ ।
पूर्व सभापति शेरबहादुर देउवासहित दुई जनाको तर्फबाट निर्वाचन आयोगलाई समेत विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । देउवा पक्षले गगन थापा–विश्वप्रकाश शर्मा समूहले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक दाबी गर्दै अदालतको शरण लिएको थियो ।
यसअघि विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा निर्वाचित भएपछि देउवा पक्षले निर्वाचन आयोगमा उजुरी दिएको थियो । तर आयोगले थापा नेतृत्वको कार्यसमितिलाई नै वैधानिकता प्रदान गरेको थियो । सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको हो ।
निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै गगन थापा नेतृत्वको समितिले पार्टीका नियमित गतिविधि सञ्चालन गर्दै आएको छ । सोहीअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टिकटमा सभापति थापाले हस्ताक्षर गरी वितरण गरिसकेका छन्।
पार्टीबाट सिफारिस प्राप्त उम्मेदवारहरूले सोही आधारमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

