काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद ब्याज आम्दानी २.२७ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले ३ अर्ब १४ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३ अर्ब ७ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च, कर्मचारी खर्च, परिशोधन तथा ह्रास खर्चमा भएको वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थामा भएको अत्यधिक वृद्धिका कारण खुद नाफा गत वर्षको तुलनामा घटेको छ ।
बैंकले समीक्षा अवधिसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा भने बैंकको खुद नाफा ६६ करोड १८ लाख रहेको थियो ।
बैंकले कस्ट अफ फण्ड भने घटाएको छ । अघिल्लो आवमा ५.२७ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ३.७८ प्रतिशतमा सीमित बनेको छ । बैंकले वित्तीय स्थिरता र जोखम व्यवस्थापनमा बल गरेका देखिन्छ । बैंकको पूँजी प्रयाप्तता अनुपात १२.४८ प्रतिशत कायम भएको छ । जुन राष्ट्र बैंकले तोकेको न्यूनतम मापदण्डभन्दा बढी हो ।
दोस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब र कर्जा प्रवाह १ खर्ब ६८ अर्ब रहेको छ । वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ४.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५८४ रुपैयाँ र तरलता अनुपात २६.४३ प्रतिशत रहेको छ ।

