काठममाण्डौ । सानिमा बैंक लिमिटेडको खुद नाफा १६.६७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
यद्यपी बैंकको वितरणयोग्य मुनाफा १०.५२ प्रतिशतले घटेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६१ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा यस्तो रकम १ अर्ब ७९ करोड रुपैयाँ थियो ।
यससँगै बैंकको लाभांश क्षमता समेत घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १९.१४ प्रतिशत रहेको लाभांश क्षमता १६.९५ प्रतिशतमा सीमित बनेको छ ।
अघिल्लो आवमा २ अर्ब १० करोड रहेको रिटेन्ड अर्निङ घटेर १ अर्ब ६१ करोडमा खुम्चिएको छ । रिजर्भ भने ७ अर्ब ३४ करोडबाट बढेर ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज ७६ करोड १९ लाख रुपैयाँबाट बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा अनुपात भने ३.२२ प्रतिशतबाट बढेर ३.६३ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २०.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.३९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९९०.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.४१ गुणा र तरलता अनुपात २८.२२ प्रतिशत कायम भएको छ ।

