काठमाण्डौ । स्मार्टफोन तातिनु एउटा सामान्य कुरा हो। क्यामेरा धेरै प्रयोग गर्दा वा कुनै हाई एन्ड गेम लामो समयसम्म खेल्दा पनि फोन छिटो तात्छ। यस्तो अवस्थामा फोनलाई सकेसम्म चाँडो सामान्य तापक्रममा ल्याउन आवश्यक हुन्छ। वास्तवमा, तपाईंको फोन जति समय ओभरहिट अवस्थामा रहन्छ, त्यति नै समय त्यसको खराब प्रभाव फोनको ब्याट्री, चिपसेट र अन्य भागहरूमा पर्छ।
यसका लागि फोन बन्द गर्ने, फोनको कभर हटाउने र फोन कूलर प्रयोग गर्ने सल्लाह दिएको सुन्न सकिन्छ । साथै केही कुराहरू नगर्न पनि सल्लाह दिइन्छ, जस्तै फोनलाई फ्रिजमा राख्नु वा फोनको पछाडि बरफ लगाउनु आदि।
कसरी तातिएको फोन चिसो गर्ने ?
यदि फोन धेरै तात्यो भने, त्यसलाई चिसो पार्ने सबैभन्दा सजिलो उपाय भनेको फोन बन्द गर्नु हो। तर, हरेक पटक यसो गर्न सम्भव हुँदैन। कहिलेकाहीँ तपाईंले कुनै जरुरी कल लिनुपर्ने हुन सक्छ वा कुनै कलको प्रतीक्षा गरिरहनु भएको हुन सक्छ। यस्तो अवस्थामा पनि केही उपायहरू छन्, जसबाट तपाईं फोनलाई छिट्टै सामान्य तापक्रममा ल्याउन सक्नुहुन्छ।
फोनको कभर हटाइदिनुहोस्
यदि फोन बन्द गर्न सम्भव छैन भने, तातिरहेको फोनको कभर हटाउनु पर्छ। यसो गर्दा फोनको ताप सजिलै बाहिर निस्कन सक्छ।
सबै एपहरू बन्द गरिदिनुहोस्
फोन तात्दा तपाईंले फोन बन्द गर्न नसक्नु होला, तर सबै टास्क बन्द गर्न सक्नुहुन्छ। फोन ओभरहिट भइरहेको छ भने, त्यसका सबै टास्क बन्द गरिदिनुहोस्। यसले फोन छिट्टै चिसो हुन मद्दत गर्छ।
पावर सेभिङ मोड अन गर्नुहोस्
फोन ओभरहिट भइरहेको बेला पावर सेभिङ मोड अन गर्नु राम्रो हुन्छ। यस मोडले फोनको प्रोसेसिङ गति कम गरिदिन्छ। यसले गर्दा फोन छिट्टै कोठाको तापक्रममा फर्किन्छ।
फोन धेरै तात्दा के नगर्ने ?
फोन अत्यधिक तात्दा केही कामहरू गर्नबाट बच्नुपर्छ। जस्तै, फोनलाई फ्रिज वा फ्रीजरमा राख्नु। यसो गर्नु खतरनाक हुन सक्छ, किनकि फोन छिट्टै चिसिन्छ र यसले भित्रका भागहरू बिग्रिन सक्छन् वा क्यामेरा लेन्समा फोग जम्न सक्छ।
साथै याद राख्नुहोस्, धेरै गर्मी जस्तै धेरै चिसो पनि फोनका लागि हानिकारक हुन्छ। त्यसैले फोनलाई फ्रिजमा राख्दा झन् बढी क्षति हुन सक्छ।
चार्ज नगर्नुहोस्
यदि फोन धेरै तातेको छ भने, सम्भव छ कि त्यसको ब्याट्री छिट्टै घटिरहेको होस्। यस्तो अवस्थामा तातिएको अवस्थामै चार्जमा नराख्नुहोस्। यसले ब्याट्री बिगार्नुका साथै ब्याट्री विस्फोट हुने जोखिम पनि बढाउँछ।
बरफ नलगाउनुहोस्
कहिलेकाहीँ मानिसहरूले फोन तात्दा त्यसको पछाडि बरफ दल्न थाल्छन्। यसो गर्दा फोनभित्र कन्डेन्सेसन हुन सक्छ र क्यामेरामा फोग जम्नुका साथै अचानक पछाडिको ग्लास चिसिँदा फुट्न पनि सक्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।