काठमाण्डौ । कोरोना महामारीको सुरुवात भए यता ईभी कार निमार्ता कम्पनी टेस्लाको बिक्री पहिलोपटक घटेको छ । चिनियाँ र पश्चिीमा अटो निर्माता कम्पनीहरुले आक्रमक रुपमा बजार विस्तार गरिरहेकाले टेस्लाको बिक्री प्रभावित बन्न पुगेको हो ।
टेस्लाले यस वर्षको पहिलो तीन महिनामा ४ लाख ३३ हजार युनिट कार निर्माण गरेकोमा ३ लाख ८७ हजार युनिट मात्रै डेलिभरी गरेको जनाएको छ । जुन सन् २०२३ मा डेलिभर भएको ४ लाख ८४ हजार ५०७ युनिटको तुलनामा २०.१२ प्रतिशतले कम हो ।
यस्तै टेस्लाको बिक्रीमा पनि कमी आएको छ । कम्पनीले बढ्दो मूल्य कटौतीका कारण बढेको प्रतिस्पर्धाका कारण कम्पनीको बिक्रीमा कमी आएको जनाएको छ । तर पनि टेस्ला अन्य परम्परागत अटो निर्माताको तुलनामा भने अझै पनि मुनाफाजन्य अवस्थामै छ ।
घट्दो व्यवसायको प्रभाव कम्पनीको सेयरमूल्यमा समेत देखिएको छ । सोमबार कम्पनीको सेयरमूल्य ५ प्रतिशतले घटेको थियो ।
टेस्लाको बिक्री घटेपनि कम्पनी बिवाईडीबाट विश्वको अग्रेणी ईभी निर्माताको ताज भने खोस्न सफल भएको छ । बिवाईडीले यो वर्षको पहिलो तीन महिनामा ३ लाख ११४ युनिट मात्र(हाईब्रिड समावेश नगरिएको)मात्रै कार बिक्री गरेको जनाएको छ । जुन गत अघिल्लो त्रैमासको ५ लाख २५ हजार ४०९ को तुलनामा कम हो ।