काठमाण्डौ । समानुपातिकतर्फको मतगणना पनि जारी छ । बिहान ८ः४० सम्मको ताजा अपडेटअनुसार २५ लाख ११ हजार ५ मतको गणना भइसकेको छ ।
ताजा परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी निकै ठूलो मतान्तरसहित समानुपातिकमा पनि अग्रता लिइरहेको छ । रास्वपाले हालसम्म समानुपातिकमा १२ लाख ६८ हजार ४७९ मत प्राप्त गरेको छ । यो भनेको कुल गणना भएको मतको ५०.५१ प्रतिशत हो । यसरी हेर्दा रास्वपाले ५० प्रतिशतभन्दा माथिको रेञ्जमा समानुपातिकतर्फ मत ल्याइरहेको देखिन्छ ।
दोश्रो स्थानमा ४ लाख २८ हजार ३४६ मतसहित नेपाली कांग्रेस रहेको छ । यो भनेको कुल गणना मतको १७ प्रतिशत हो ।
तेश्रो स्थानमा ३ लाख ४० हजार ७४४ मतसहित नेकपा एमाले देखिएको छ । यो भनेको १३.५७ प्रतिशत हो ।
प्रचण्ड नेतृत्वको नेकपा १ लाख ६७ हजार १५८ मतसहित चौथो स्थानमा छ भने ९१ हजार ६३७ मतसहित राप्रपा पाँचौ र ५१ हजार १६२ मतसहित श्रम संस्कृति पार्टी छैठौं स्थानमा देखिएको छ । श्रम संस्कृति पार्टीको समानुपातिकतर्फ आइरहेको मतको रुझान हेर्दा ३ प्रतिशतको न्यूनतम थे्रसहोल्ड समेत कट्न कठीन देखिएको छ ।

