काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा रहेको छ । यो क्रममा १३५ सिटको अन्तिम नतिजा आइसकेको छ ।
पछिल्लो अपडेटअनुसार १३५ सिटमध्ये १०४ सिटमा रास्वपाले जित हासिल गरेको छ । प्रत्यक्षतर्फ रास्वपालाई निकै ठूलो जनमत प्राप्त गरेको हो । रास्वपाका अगाडि अन्य दल निरीह देखिएका छन् ।
हालसम्म कांग्रेसले १५ सिट जितेको छ । यस्तै, एमालेले ७ सिट जितेर तेश्रोमा पुगेको छ भने नेकपा ६ सिट जितेर चौथो पोजिसनमा छ ।
राप्रपा र श्रम संस्कृति पार्टीले १ १ सिट जितेका छन् । एक स्वतन्त्र उम्मेद्वारले पनि जित निकालेका छन् ।
कहाँ कसको अग्रता ?
यसैबीच, अब अन्तिम मतपरिणाम आउन बाँकी ३१ क्षेत्र रहेका छन् । ३१ सिटमध्ये अझै २० सिटमा रास्वपाकै अग्रता छ ।
दुई सिटमा कांग्रेस, ४ सिटमा एमाले, २ सिटमा नेकपा र २ सिटमा श्रम संस्कृति पार्टीको अग्रता छ ।
रास्वपा दुईतिहाई नजिक
प्रत्यक्षतर्फ ७५ प्रतिशत माथि सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी मतसहित निरन्तर अग्रता लिइरहेको छ । पछिल्लो अपडेटअनुसार २६ लाख ३० हजार मत गणना भइसक्दा रास्वपाले १३ लाख २१ हजार बढी मत पाएको छ । यही हिसाबले हेर्दा पनि रास्वपाले समानुपातिकतर्फको ११० सिटमध्ये ५० देखि ५५ प्रतिशतसम्म सिट पाउने देखिन्छ । यसरी प्रत्यक्ष र समानुपातिकतर्फको कुल २७५ सिटमा दुईतिहाई बहुमत चाहिने १८४ सिट पोल्टामा पार्न रास्वपा अगाडि बढेको देखिन्छ ।

