काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. विश्वनाथ पौडेलले चुनावबाट नयाँ जनादेश आए पनि आफूले सहजै पद नछाड्ने संकेत गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनबाट दुईतिहाई नजिकको बहुमत प्राप्त गरेको रास्वपाले सरकार गठनको तयारी गरिरहेको बेला सो दलका केही नेताहरुले गभर्नर लगायत राजनीतिक नियुक्तिका आधारमा विभिन्न पदमा आसीन अधिकारीहरुलाई सहजै पद छाडेर सहयोग गर्न सन्देश प्रवाह गरिरहेका बेला गभर्नर डा. पौडेलले सहजै पद नछाड्ने संकेत गरेका हुन् ।
कान्तिपुर टेलिभिजनको एउटा अन्तर्वार्तामा उनले यस विषयमा मुख खोलेका छन् । सो अन्तर्वार्तामा रास्वपाले नैतिकताका आधारमा पद छाड्न भनेको विषयमा सोधिएको प्रश्नमा औपचारिक रुपमा आफूसम्म त्यस्तो कुरा नआइपुगेको उनले दाबी गरे ।
'म कानूनसम्मत गभर्नर भएको मान्छे हो । फेरि तपाईले सोधेजस्तो पद छाडेर मार्गप्रशस्त गर्नका लागि कतैबाट कुनै कुरा आइपुगेको अवस्था पनि होइन ।' गभर्नर पौडेलले भनेका छन्-'हरेक पदको अवधि हुन्छ । कार्यकाल सकिएपछि छाड्नैपर्छ । बेला आएपछि नछाड्ने भन्ने कुरै हुन्न नि ।'
उनले यसरी घुमाउरो रुपमा आफू पूरा कार्यकालभरि बस्नसक्ने समेत संकेत गरेका छन् ।
तर, सोही अन्तर्वार्ताका क्रममा गभर्नर पौडेलले पद छाड्नका लागि नयाँ सरकारले अफिसियल्ली कुरा ल्याएपछि सो विषयमा त्यहीबेला सोच्ने समेत बताएका छन् । 'अफिसिएल्ली कुरा आएछ भने, प्रधानमन्त्रीले नै बोलाएर भन्नु भएछ भने त्यतिबेला सोच्न सकिएला ।' उनले भनेका छन्-'तर अहिले नै यो विषयमा बोल्नु हतारो हुन्छ ।'
गभर्नरको कुरा सुन्दा सहजै पद नछाड्ने, तर प्रधानमन्त्री लेभलबाट अनुरोध आएमा मात्र सोच्न सकिने भन्ने देखिन्छ । उनको भनाईले चूपचाप पद छाडेर नहिँड्नेतर्फ बढी संकेत गरेको छ ।
यदि उनले चाहेजस्तो प्रधानमन्त्रीबाट उनलाई पद छाड्न नभनिएको अवस्थामा स्वायत्त संस्था भएको विषय अगाडि सारेर तथा कानूनमा समेत टेकेर पूर्व गभर्नर महाप्रसाद अधिकारी झै डा. पौडेल पनि पदमै बस्ने सम्भावना देखिन्छ । यदि त्यसो भयो भने महाप्रसाद अधिकारीको पालामा जस्तै सरकार र केन्द्रीय बैंकबीच असमझदारी भई अर्थतन्त्रमै गम्भीर प्रभाव पर्ने अवस्था नआउला भन्न सकिन्न ।
अब बन्न लागेको नयाँ सरकारमा अर्थमन्त्रीको रुपमा डा. स्वर्णिम वाग्ले आउने निश्चित झै छ । वाग्ले र पौडेलबीच पछिल्लो केही वर्षदेखि सम्बन्ध राम्रो छैन । पौडेलले वाग्लेको एउटा अडियो शेरबहादुर देउवा दम्पत्तिलाई बुझाएर कुरा लगाएको र त्यही प्रकरणका कारण डा. वाग्ले सोबेला कांग्रेस छाड्ने अवस्थामा पुगेका थिए । वाग्लेविरुद्धको अडियो बुझाउने काम पौडेलले गर्नुअघि चाहिँ यी दुईबीच घनिष्ठ सम्बन्ध थियो । योजना आयोगको उपाध्यक्षको रुपमा काम गर्दा डा. वाग्लेले पौडेललाई नै प्रमुख सल्लाहकार बनाएका थिए ।
सम्बन्ध बिग्रिएपछि एकअर्काको नाम समेत सुन्न नचाहने पौडेललाई सरकारको प्रमुख आर्थिक सल्लाहकारको नेतृत्वकर्ताको रुपमा डा. वाग्लेले स्वीकार गर्ने सम्भावना छैन ।
कतिपयले गभर्नर पौडेलले पनि वाग्ले अर्थमन्त्री भएपछि नैतिकताका आधारमा राजीनामा गर्नसक्छन् भनेर पनि अड्कलबाजी गरिरहेका छन् । तर, उनको पछिल्लो अभिव्यक्तिले ती अड्कलबाजीहरुलाई समर्थन गर्दैन ।
कतिपय अर्थविद तथा भेटेरान बैंकरहरुले भने अहिलेको अवस्थामा डा. वाग्ले र डा. पौडेलले तिक्तता बिर्सिएर सहकार्य गर्नुपर्ने सुझाव समेत दिइरहेका छन् ।
'अर्थमन्त्रीको रुपमा डा. स्वर्णिम वाग्ले र गभर्नरको रुपमा डा. विश्व पौडेल रहेर उनीहरुबीच राम्रो सहकार्य हुन सकेमा त्यो नेपाली अर्थतन्त्रका लागि निकै सुन्दर अवसर हुनसक्छ ।' एक बैंकरले भने-'हामी त दुवै मिलेर अगाडि बढून् भन्ने चाहन्छौं । तर, बजारमा सुनिएअनुसार उहाँहरुबीच पानी बाराबारकै अवस्था छ रे । मिल्नै नसक्ने हुँदा चाहिँ नयाँ सरकार आएपछि नैतिकताका आधारमा पौडेलले गभर्नर पद छाड्दा नै देशको हित होला ।'

