नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको आरोप लागेका ५०७ जना नेता–कार्यकर्तासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ।
बुधबार पार्टी कार्यालयमा संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले अनुशासन उल्लंघनसम्बन्धी उजुरीमाथि छानबिन अघि बढाउँदै सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष प्रस्तुत गर्न निर्देशन दिएको हो।
समितिका सचिव दिनेश थापा मगरले जारी गरेको विज्ञप्तिअनुसार हालसम्म विभिन्न जिल्ला र उम्मेदवारबाट ५०७ जनाविरुद्ध उजुरी प्राप्त भएका छन्। ती उजुरीलाई पाँच प्रकारका कसुरमा विभाजन गरी छिटो निष्कर्षमा पुर्याउने तयारी गरिएको जनाइएको छ।
उल्लेखित कसुरअन्तर्गत स्वतन्त्र (बागी) उम्मेदवार बनेकाहरू तथा तिनका प्रस्तावक–समर्थक, पार्टी उम्मेदवारविरुद्ध खुलेर प्रचारमा संलग्न हुनेहरू, अप्रत्यक्ष रूपमा विपक्षीलाई साथ दिनेहरू, पार्टीको पक्षमा मत नमागी निष्क्रिय बस्ने (‘साइलेन्स किलिङ’ गर्ने) र कांग्रेसकै निर्वाचित जनप्रतिनिधि भएर पनि विपक्षीलाई सहयोग गर्नेहरू परेका छन्। यी सबैलाई सात दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ।
त्यसैगरी, नक्कली लेटरप्याड प्रयोग गरी भ्रामक सूचना फैलाउने कार्यप्रति पनि समितिले गम्भीर आपत्ति जनाएको छ। चैत १४ मा अनधिकृत रूपमा जारी गरिएको वक्तव्यप्रति ध्यानाकर्षण जनाउँदै यस्ता गतिविधि दोहोरिएमा पार्टी विधान र प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
साथै, निर्वाचन अवधिमा भएका अनुशासन उल्लंघनसम्बन्धी थप उजुरी भए चैत मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन पनि पार्टीले आग्रह गरेको छ।

