काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरि उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
यस अघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक सेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भईसकेको थियो । नेपाल राष्ट्र बैंकवाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्वन्धी कानून तथा नियामकिय व्यवस्था अनुसार नेपाल धितोपत्रबोर्ड (सेबोन) बाट आवश्यक अनुमती तथा दर्ता प्रकृयाहरु पूरा गरि मर्चेण्ट बैंकिङ सेवाहरु सञ्चालनमा ल्याईने बैंकले जनाएको छ ।
हाल आकाश क्यापिटलको नाममा रहेको उक्त कम्पनी कामना सेवाविकास बैंकको सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’ को रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजीबजारको विकासमा सकारात्मक योगदान पूग्ने बैंकले विश्वास लिएको छ ।

