काठमाण्डौ । अमेरिका–इरान युद्धका कारण पछिल्लो समय विश्वको अर्थतन्त्र प्रत्यक्ष प्रभावित बनेको छ । विशेषगरी युद्धका कारण कच्चा तेलको मूल्य आकाशिएको छ । यसले विश्वका अधिकांश राष्ट्रहरुमा महँगी अत्यधिक बढ्न थालेको छ ।
महँगी बढ्न थालेपछि बैंकहरुको ब्याजदर पनि अब बढ्ने आँकलन गरिएको छ । विश्वका धेरै केन्द्रीय बैंकहरुले ब्याजदर घटाउन रोकिसकेका छन् वा स्थिर राख्न थालिसकेका छन् ।
महँगीका कारण अधिकांश देशहरुमा अहिले ब्याजदर तत्कालै बढाउन भन्दा पनि घटाउने क्रम रोक्ने वा स्थिर राख्ने गरेको पाइएको छ ।
तर नेपालको सन्दर्भमा पनि अवस्था विल्कुलै फरक देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंकहरुको आधार दर (बेस रेट) नै घट्ने क्रम नरोकिँदा कर्जाको ब्याजदर पनि घट्दै गएको छ ।
राष्ट्र बैंकका अनुसार २० वाणिज्य बैंकहरुको औसत आधार दर करिब ५ प्रतिशतको हाराहारीमा कायम छ । बैंकहरुले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर विवरणअनुसार औसत आधार दर घटेर ५.१२ प्रतिशत कायम भएको हो ।
एक महिनाको अवधिमा बैंकहरुको औसत आधारदर ०.०७ प्रतिशत विन्दुले घट्न पुगेको छ । चैत महिनामा बैंकहरुको बेस रेट ५.१९ प्रतिशत रहेको थियो ।
नेपालको बैंकिङ क्षेत्रमा पर्याप्त रहेको तरलताको आधारमा कर्जा लगानी वृद्धि हुन सकिरहेको छैन । राष्ट्र बैंकका अनुसार सेयर धितो कर्जा र सीमित प्रकृतिका कर्जा मात्रै बढेपनि समग्र बैंकिङ क्षेत्रमा पर्याप्त रहेको तरलता अनुसार कर्जा विस्तार वा लगानी हुन सकिरहेको छैन ।
बैंकहरुमा तरलता थुप्रिन थालेपछि निक्षेपको ब्याजदर घटाउन र आधार दर थप घटाउन बैंकहरुलाई दबाब देखिएको छ । बैंकहरुले कर्जाको प्रकृतिअनुसार आधारदरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ब्याजदर निर्धारण गर्दै आएका छन् । बेस रेट नै घट्न थालेपछि ग्राहकहरुले सस्तो ब्याजदरमै कर्जा सहजै पाउने अवस्था सिजर्ना भएको छ ।
अन्तर्राष्ट्रिय युद्धका कारण अचाक्लि महँगी बढ्न थालेपछि बैंकहरुको ब्याजदर पनि बढ्न सक्ने आँकलन गरिएको छ । तर बैंकहरुको बेस रेट नै न्यून विन्दुमा आइसकेका कारण तत्कालै ब्याजदर नबढ्ने तर स्थिर हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपी युद्ध नरोकिँदा जसरी विश्वव्यापी रुपमा महँगी बढ्न थालेको छ, त्यहि अनुरुप नेपालमा पनि महँगी बढ्ने हो भने नेपाल राष्ट्र बैंकले बैंकहरुको आधार दर बढाउन सक्ने देखिन्छ । केही विज्ञहरुले महँगीको सन्तुलन मिलाउन बैंकहरुलाई ब्याजदर बढाउन दबाब पर्न सक्ने अनुमान गरेका छन् ।
अहिले बैंकहरुलाई अधिक तरलता थुप्रिएपछि कर्जा लगानी बढाउन दबाब छ । तर ऋणको माग नै कमजोर हुँदा बैंकहरुलाई बेस रेट र ब्याजदर घटाउन बाध्यात्मक अवस्था सिर्जना भएको हो ।
वैशाख महिनाको आधारमा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको रहेको देखिन्छ । यस महिनामा बैंकको बेस रेट सबैभन्दा कम ४.२५ विन्दुमा कायम छ । चैतमा भने बैंकको बेस रेट ४.३० विन्दुमा रहेको थियो ।
त्यस्तै, एभरेष्ट बैंकको पनि ४.४८ विन्दुमा छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.५३ प्रतिशत, नबिल बैंकको ४.६५ प्रतिशत, नेपाल बैंकको ४.७८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.९० प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.९५ प्रतिशत रहेको छ ।
अन्य बैंकको बेस रेट भने ५ प्रतिशत भन्दा माथि रहेको छ । सबैभन्दा धेरै बेस रेट अर्थात् ब्याजदर एनआइसी एशिया बैंकको ६.२५ प्रतिशत रहेको छ ।


