काठमाण्डौं । संगठनात्मक पुनर्संरचना र आन्तरिक व्यवस्थापनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ६ बजे सचिवालय बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने बैठकलाई सामान्य औपचारिक छलफलभन्दा बढी नीतिगत महत्वको रूपमा हेरिएको छ ।
बैठकमा ६ वटा मुख्य एजेन्डा तय गरिएको छ । जसमा आगामी पार्टी भेला तथा अधिवेशनको कार्यतालिका, आयोग तथा विभागमा पदाधिकारी नियुक्ति, र जिल्ला समितिहरूको पुनर्संरचना वा सम्भावित विघटन प्रमुख छन् ।
त्यसैगरी अनुशासनसम्बन्धी विषय, केन्द्रीय समिति बैठक बोलाउने तयारी तथा पार्टी सञ्चालन र निर्णय प्रक्रियालाई अझ व्यवस्थित बनाउने उपायहरूबारे पनि छलफल हुने बताइएको छ ।
पछिल्ला दिनमा संगठन विस्तार, नेतृत्व समायोजन र संरचनागत स्पष्टताबारे पार्टीभित्र उठिरहेका बहसका बीच बस्न लागेको यो बैठकलाई आगामी राजनीतिक रणनीति र संगठनको दिशानिर्देशन तय गर्ने निर्णायक चरणका रूपमा विश्लेषण गरिएको छ ।

