काठमाण्डौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारीबाट अन्तिम क्षणमा पछि हटेका छन्।
निर्धारित कार्यसूचीअनुसार आज बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको भएपनि विश्वासको मतसम्बन्धी प्रस्ताव तत्काल अघि नबढाउने निर्णय भएपछि राजनीतिक प्रक्रिया स्थगित भएको हो।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्री यादवले अब जेठ ८ गते विश्वासको मत लिने तयारी भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार राजनीतिक परामर्श र दलगत छलफलपछि नयाँ मिति तय गरिएको हो।
प्रदेशसभामा आजको बैठकमा विश्वासको मत प्रस्ताव प्रस्तुत हुने अपेक्षा गरिए पनि अन्तिम समयमा सत्ता गठबन्धनभित्र देखिएको असन्तुलन र विश्वासको संकटका कारण प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।
गठबन्धनभित्र मात्र नभई सत्तारूढ दलभित्र समेत असन्तुष्टि बढ्दै गएपछि मतदानको क्रममा फ्लोर क्रस हुने जोखिम देखिएको आकलन गरिएको छ।
यही परिस्थितिबीच मुख्यमन्त्री यादवले तत्काल विश्वासको मत सामना नगर्ने निर्णय गरेका हुन्।
यद्यपि प्रदेशसभा बैठक भने अन्य नियमित कार्यसूचीमा प्रवेश गरी सञ्चालन गरिएको जनाइएको छ।
राजनीतिक पृष्ठभूमिमा गत वैशाख २१ गते जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि सरकारको बहुमतमा प्रश्न उठेको थियो।
त्यसपछि संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुखको आह्वानमा मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो।
तर, बहुमत सुनिश्चित नभएको, गठबन्धनभित्रै अविश्वास बढेको र दलगत समन्वय कमजोर भएको संकेत देखिएपछि तत्काल निर्णय प्रक्रियामा पुनः रणनीतिक ढिलाइ गरिएको विश्लेषण गरिएको छ।
अब जेठ ८ गते पुनः विश्वासको मत लिने तयारीसँगै मधेश प्रदेशको सत्ता समीकरण थप निर्णायक मोडमा पुगेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाक्रमले प्रदेश सरकारको स्थायित्व र गठबन्धनको भविष्यबारे अनिश्चितता अझै कायम रहेको देखाएको छ।

