काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ।
संक्रमण तीव्र गतिमा फैलिन थालेपछि र सीमापार असर देखिन थालेपछि डब्ल्यूएचओले विश्व समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
बीबीसीका अनुसार, हालसम्म करिब २४६ जनामा संक्रमण भएको आशंका गरिएको छ भने कम्तीमा ८० जनाको मृत्यु भइसकेको रिपोर्ट सार्वजनिक भएको छ।
यद्यपि, डब्ल्यूएचओले यो अवस्था अझै विश्वव्यापी महामारीको मापदण्डमा नपुगेको स्पष्ट पारेको छ। संगठनका अधिकारीहरूले प्रकोप गम्भीर भए पनि नियन्त्रणबाहिर नपुगेको बताएका छन्।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले संक्रमित व्यक्तिको वास्तविक संख्या अझै स्पष्ट नभएको र रोग फैलिएको भौगोलिक क्षेत्र अपेक्षाभन्दा ठूलो हुनसक्ने चेतावनी दिएका छन्।
उनका अनुसार, दुर्गम क्षेत्र, कमजोर स्वास्थ्य सेवा र सीमित परीक्षण क्षमताका कारण वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेको छ।
यो प्रकोप ‘बुन्डिबुग्यो भाइरस’ नामक इबोलाको दुर्लभ प्रकारका कारण फैलिएको हो।
डब्ल्यूएचओका अनुसार, यस प्रकारको भाइरसका लागि हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन।
यसले उपचार तथा नियन्त्रण प्रयासलाई थप जटिल बनाएको छ।
हालसम्म आठ वटा प्रयोगशाला–प्रमाणित संक्रमण पुष्टि भएका छन्।
संक्रमण इटुरी प्रान्तको राजधानी बुनिया तथा सुनखानी गतिविधिका लागि परिचित मोंगवालु र र्वाम्पारा क्षेत्रमा समेत फैलिएको आशंका गरिएको छ।
ती क्षेत्रमा थप संदिग्ध बिरामी र मृत्युका घटनाहरू देखिन थालेपछि स्वास्थ्य अधिकारीहरू चिन्तित बनेका छन्।
डब्ल्यूएचओले संक्रमण प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमाभन्दा बाहिर पनि फैलिन थालेको जनाएको छ। छिमेकी देशयुगान्डामा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ।
बिहीबार मृत्यु भएका ५९ वर्षीय एक पुरुषमा गरिएको परीक्षणपछि इबोला संक्रमण पुष्टि भएको बताइएको छ।
कंगोसँग सीमा जोडिएका अन्य अफ्रिकी राष्ट्रहरूमा समेत संक्रमण फैलिन सक्ने जोखिम उच्च रहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्।
त्यसैले डब्ल्यूएचओले कंगो र युगान्डा दुवैलाई संक्रमण निगरानी, संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको खोजी (‘कन्ट्याक्ट ट्रेसिङ’) तथा रोकथामका उपाय तीव्र बनाउन आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्न सुझाव दिएको छ।
स्वास्थ्य एजेन्सीका अनुसार, संक्रमण फैलिन नदिन संक्रमित व्यक्तिलाई तुरुन्त आइसोलेसनमा राख्नुपर्छ।
साथै, कम्तीमा ४८ घण्टाको अन्तरालमा गरिएका दुईवटा बुन्डिबुग्यो भाइरस–विशेष परीक्षण नेगेटिभ नआएसम्म बिरामीको उपचार र निगरानी जारी राख्नुपर्ने उल्लेख गरिएको छ।
डब्ल्यूएचओले प्रभावित क्षेत्रबाहिरका देशहरूलाई सीमा बन्द नगर्न तथा यात्रा र व्यापारमा अनावश्यक प्रतिबन्ध नलगाउन आग्रह गरेको छ।
संगठनका अनुसार, यस्ता प्रतिबन्ध धेरैजसो डरका आधारमा लागू गरिन्छन् र तिनको वैज्ञानिक आधार कमजोर हुने गर्छ।
अनावश्यक प्रतिबन्धले प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य सहायता पुर्याउन थप कठिनाइ सिर्जना गर्न सक्ने चेतावनी पनि दिइएको छ।
इबोला भाइरस पहिलोपटक सन् १९७६ मा हालको प्रजातान्त्रिक गणतन्त्र कंगोमा पत्ता लागेको थियो।
वैज्ञानिकहरूका अनुसार यो भाइरस सम्भवतः चमेरोबाट मानिसमा सरेको हो।
कंगोमा यो इबोलाको १७औँ प्रकोप हो, जसले त्यहाँको स्वास्थ्य प्रणालीलाई बारम्बार चुनौती दिँदै आएको छ।
यो रोग संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थ—जस्तै रगत, पसिना, बान्ता, पिसाब वा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा फैलिन्छ।
काटिएको वा फुटेको छालामार्फत पनि संक्रमण सर्न सक्छ। रोगले शरीरमा गम्भीर रक्तस्राव गराउने र विभिन्न अंगहरूलाई निकम्मा बनाउने जोखिम पैदा गर्छ।
इबोलाका प्रारम्भिक लक्षणमा ज्वरो आउने, मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने, टाउको तथा घाँटी दुख्ने जस्ता समस्या देखिन्छन्।
त्यसपछि बिरामीमा बान्ता हुने, पखाला लाग्ने, शरीरमा डाबर देखिने र आन्तरिक वा बाह्य रक्तस्राव हुने अवस्था आउन सक्छ।
गम्भीर अवस्थामा बिरामीको कलेजो, मिर्गौला तथा अन्य अंगले काम गर्न छोड्न सक्छन्।
डब्ल्यूएचओका अनुसार, हालसम्म इबोलाको पूर्ण रूपमा प्रमाणित उपचार उपलब्ध छैन।
यद्यपि, समयमै उपचार, शरीरमा पानी र पोषणको मात्रा कायम राख्ने तथा आवश्यक चिकित्सकीय सहयोग उपलब्ध गराउँदा बिरामी बाँच्ने सम्भावना बढ्न सक्छ।
यो रोगको औसत मृत्युदर करिब ५० प्रतिशत रहेको छ, जसका कारण यसलाई विश्वकै सबैभन्दा घातक भाइरल रोगमध्ये एक मानिन्छ।
पछिल्लो ५० वर्षमा अफ्रिकी देशहरूमा इबोलाका विभिन्न प्रकोपका कारण करिब १५ हजार मानिसको मृत्यु भइसकेको छ।
कंगोमा सबैभन्दा घातक प्रकोप सन् २०१८ देखि २०२० सम्म फैलिएको थियो, जसमा झन्डै २३ सय जनाको ज्यान गएको थियो।
गत वर्ष पनि कंगोको एक दुर्गम क्षेत्रमा फैलिएको अर्को प्रकोपमा ४५ जनाको मृत्यु भएको थियो।
स्वास्थ्य विशेषज्ञहरूले हालको प्रकोप नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोग, तीव्र निगरानी, जनचेतना अभियान तथा सीमापार समन्वय अत्यन्त आवश्यक रहेको बताएका छन्।
उनीहरूका अनुसार, समयमै नियन्त्रण गर्न नसके संक्रमणले मध्य तथा पूर्वी अफ्रिकाका अन्य देशहरूमा समेत ठूलो स्वास्थ्य संकट निम्त्याउन सक्छ।

