काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । वैशाख ४ गते मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसंीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको बताए ।
साथै, बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनतहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                