काठमाण्डौ । नेपालको सार्वजनिक ऋण करिब ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म यो ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो। यसअनुसार चालु आर्थिक वर्षको १० महिनामै सार्वजनिक ऋण करिब ३ खर्ब रुपैयाँभन्दा बढीले बढेको छ।
कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ। अमेरिकी डलर मजबुत हुँदा विनिमय दरको असरले मात्र बाह्य ऋण दायित्वमा करिब १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको थप चाप परेको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षमा सरकारले हालसम्म ३ खर्ब ६५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ। तर सोही अवधिमा ऋण सेवा खर्च (साँवा तथा ब्याज भुक्तानी) २ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।
यसमा साँवा भुक्तानी २ खर्ब ३२ अर्ब रुपैयाँ र ब्याज भुक्तानी करिब ६१ अर्ब रुपैयाँ रहेको छ। आन्तरिक ऋणतर्फ मात्रै करिब २ खर्ब ३६ अर्ब रुपैयाँ तिर्नुपरेको देखिन्छ।

