काठमाण्डौ । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडा ले आगामी बजेट यथार्थवादी बनाउन सरकारलाई सुझाव दिएका छन्। उनले राजनीतिक दबाबका कारण ‘छक्का हान्ने’ शैलीको बजेट ल्याउने प्रवृत्तिबाट बच्न आग्रह गरेका छन्।
खतिवडाले अर्थमन्त्रीहरू सामान्यतया बजेटको ‘बाउन्ड्री’ भित्र बस्न खोजे पनि राजनीतिले अस्वाभाविक महत्वाकांक्षा थोपर्ने गरेको टिप्पणी गरे। उनले राजश्व वृद्धिको यथार्थ सीमा १० देखि १२ प्रतिशत मात्रै हुने भन्दै १५ प्रतिशत वा त्योभन्दा माथिको लक्ष्य राख्नु अव्यावहारिक हुने बताए।
“यो वर्ष राम्रो भए पनि १३ खर्ब रुपैयाँ राजश्व संकलन पुग्दैन,” भन्दै उनले आगामी बजेट करिब साढे २० खर्बको बनाउन सकिने तर खर्च यथार्थमा १६–१७ खर्बभन्दा माथि जान कठिन हुने बताए।
उनले आयकरको तल्लो स्ल्याब चलाउन नहुने, अन्तःशुल्क क्रमशः घटाउँदै लैजानुपर्ने तथा भ्याटलाई दुई दरमा विभाजन गर्न नहुने सुझाव दिए। उनका अनुसार कर प्रणालीलाई जटिल बनाउने भन्दा सरल र स्थिर बनाउनु आवश्यक छ।
खतिवडाले संघीय सरकारले उपभोक्ता समितिमार्फत विकास निर्माण गराउने अभ्यास रोक्नुपर्ने बताए। स्वास्थ्य बीमामा थैली बढाएर मात्रै समस्या समाधान नहुने भन्दै प्रणाली सुधारमा जोड दिनुपर्ने उल्लेख गरे।
कृषि क्षेत्रमा मधेसको योगदान घट्दै गएको उल्लेख गर्दै उनले कृषिमा अनुदान आवश्यक रहेको धारणा राखे। राष्ट्रिय गौरवका आयोजनामा मनपरी ढंगले काम भएको भन्दै त्यसलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने सुझाव पनि दिए।
उनले वित्तीय क्षेत्र सुधार, राष्ट्र बैंकसँग समन्वय, निजी क्षेत्रको मनोबल वृद्धि तथा नेपाललाई ग्रे–लिस्टबाट हटाउन कूटनीतिक पहल आवश्यक रहेको बताए। “दुई–चार जना थुनेर मात्रै ग्रे–लिस्टबाट बाहिर निस्कन सकिँदैन,” उनले भने।

