काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ता, लगानीकर्ता तथा सरोकारवालाले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । लामो समयदेखि आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै पीडितहरूले जेठ १८ गते सोमबार नेपालगञ्जस्थित बैंकको केन्द्रीय कार्यालय अगाडि बृहत् आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
बाँके, बर्दिया र दाङ जिल्लाका १९ वटा शाखा कार्यालयसँग सम्बन्धित बचतकर्ताहरूले संयुक्त रूपमा सूचना जारी गर्दै आफूहरूले दुःख, मेहनत र रगत–पसिनाले जम्मा गरेको रकम अझै फिर्ता नपाएको गुनासो गरेका छन् ।
पीडित समूहले Nepal Rastra Bank माथि समेत गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । राष्ट्र बैंकले समस्या समाधानमा ठोस पहल नगरी बारम्बार आश्वासन मात्रै बाँडेको, कहिले हकप्रद सेयर, कहिले आईपीओ र एफपीओको चर्चा गरेर बचतकर्तालाई अलमल्याउने काम गरेको आरोप उनीहरूको छ ।
सूचनामा बैंकका संस्थापक र जिम्मेवार व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अगाडि नबढाइएको, जनताको बचत फिर्ता गर्ने विषयलाई प्राथमिकतामा नराखिएको तथा सम्बन्धित निकायहरू एकअर्कालाई दोष थोपर्ने काममै केन्द्रित भएको उल्लेख गरिएको छ ।
“अब हामी सबै एकजुट हुने बेला भयो, अब अति भयो, अब बोल्ने बेला भयो,” पीडित समूहले जारी गरेको अपिलमा भनिएको छ । आन्दोलनमा व्यापक सहभागिताका लागि सबै बचतकर्ता तथा सरोकारवालालाई आह्वान गरिएको छ ।
घोषित कार्यक्रमअनुसार आन्दोलन जेठ १८ गते सोमबार दिउँसो १२ बजे नेपालगञ्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयमा हुने बताइएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकको समस्याले लामो समयदेखि हजारौं बचतकर्ताको रकम जोखिममा परेको छ । बैंकको वित्तीय अवस्था, व्यवस्थापन कमजोरी र नियामकीय निगरानीमाथि यसअघि पनि पटक-पटक प्रश्न उठ्दै आएका छन् । पछिल्लो आन्दोलन घोषणाले बैंकिङ क्षेत्रको संकट व्यवस्थापन र बचतकर्ताको रकम सुरक्षाबारे पुनः गम्भीर बहस सुरु गराएको छ ।

