काठमाण्डौ । बंगलादेशमा सामाजिक सञ्जालमा भाइरल बनेको एक दुर्लभ सेतो भैंसीलाई ईद–उल–अजहाको बलिबाट जोगाएर राष्ट्रिय चिडियाखानामा सारिएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सँग मिल्दोजुल्दो अनुहार र कपालको बनोट भएका कारण उक्त भैंसीले व्यापक चर्चा पाएको थियो।
करिब ७०० किलोग्राम तौल भएको उक्त भैंसीको निधारमा रहेको सेतो दाग र माथितिर उठेको कपालको शैलीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई ‘डोनाल्ड ट्रम्प भैंसी’ नाम दिएका थिए। ईद–उल–अजहा अघि सार्वजनिक भएका तस्वीर र भिडियोहरू लाखौँ पटक हेरिएका थिए।
३८ वर्षीय मालिक जिया उद्दिन मृधाले भैंसी बिक्री गरिसकेका थिए। तर जनचासो अत्यधिक बढेपछि बंगलादेश सरकारले अन्तिम समयमा हस्तक्षेप गर्दै उक्त भैंसीलाई बलिबाट बचाएको हो। सरकारी अधिकारीहरूले भैंसी खरिद गरी ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गरेका छन्, जहाँ अब यसलाई सार्वजनिक प्रदर्शनमा राखिनेछ।
बंगलादेशी सरकारी स्रोतका अनुसार असामान्य सार्वजनिक आकर्षण र सुरक्षा चिन्ताका कारण भैंसीलाई बलि दिन नदिने निर्णय गरिएको हो। चिडियाखानाका अधिकारीहरूले पनि भाइरल चर्चाका कारण जनावरको सुरक्षालाई ध्यानमा राख्दै यसलाई सुरक्षित वातावरणमा राखिएको बताएका छन्। अहिले उक्त भैंसीलाई विशेष घेराभित्र राखिएको छ र यो चिडियाखानाको प्रमुख आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ।
यसअघि भैंसी लोकप्रिय बनेपछि मालिक मृधाले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्ना भाइले मजाकमै यसको कपाल देखेर डोनाल्ड ट्रम्प नाम राखेको बताएका थिए। उनका अनुसार यो भैंसी स्वभावले अत्यन्त शान्त छ। ‘दक्षिण एसियामा एल्बिनो भैंसी दुर्लभ मानिन्छन् र सामान्यतया उक्साइएमा मात्र आक्रामक बन्छन्,’ उनले भने।
भैंसीलाई मकै, सोयाबिन र चोकरसहित पौष्टिक आहार खुवाइएकाले यसको आकार र स्वास्थ्य आकर्षक बनेको जनाइएको छ।
यसैबीच, अर्को एक विशाल भैंसी पनि चर्चामा आएको छ। ७५० किलोग्रामभन्दा बढी तौल भएको उक्त भैंसीलाई ‘बेन्जामिन नेतान्याहु नाम दिइएको छ। फार्मका कामदारहरूका अनुसार यो भैंसी भने निकै चञ्चल र आक्रामक स्वभावको छ।

