काठमाण्डौ । राजधानीका विभिन्न स्थानमा भएका डाँका तथा लुटपाट घटनामा संलग्न रहेको आरोप लागेका गणेश कार्कीलाई प्रहरीले शनिबार राति जडिबुटी क्षेत्रबाट गोली प्रहारपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रतिरोध गर्दै प्रहरीमाथि आक्रमण गरेपछि आत्मरक्षाका क्रममा गोली प्रहार गरिएको हो। गोली उनको बायाँ खुट्टामा लागेको र हाल उनलाई ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कार्की पछिल्ला केही महिनादेखि काठमाण्डौका विभिन्न क्षेत्रमा लुटपाट, चोरी तथा ठगीका घटनामा संलग्न रहेको आरोपमा खोजी सूचीमा थिए। उनीसँगै घटनामा संलग्न रहेका विष्णु खत्रीलाई भने शनिबार दिउँसो नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो।
अनुसन्धान अधिकारीहरूका अनुसार सुकेधारा क्षेत्रमा एक महिलामाथि खुर्सानीको धुलो प्रयोग गरी सुनको सिक्री र मोबाइल लुटिएको घटनामा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

