काठमाण्डौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले पर्यटन मन्त्रालय र निगमद्वारा गठन गरिएको छनोट समितिको कामकाज रोक्न निर्देशन दिएको हो।
निगमको सञ्चालक समितिमा प्रतिस्पर्धामार्फत छनोट गरिँदै गर्दा आफू अन्यायपूर्वक सूचीबाट बाहिरिएको दाबी गर्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सोही मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो।
सरकारले खुला प्रतिस्पर्धामार्फत नेपाल वायुसेवा निगमको अध्यक्ष तथा सञ्चालक सदस्य चयन गर्ने तयारी अघि बढाएको थियो।
तर, अदालतको आदेशपछि उक्त प्रक्रिया तत्कालका लागि स्थगित भएको छ।

