काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गतको बन्दसत्र आजदेखि शुरु हुने भएको छ। प्राविधिक तयारी ढिलाइका कारण बन्दसत्र एक दिन पछि सरेको पार्टीले जनाएको छ।
पार्टीका अनुसार बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु गरिनेछ। कार्ड वितरणपछि निर्धारित कार्यसूचीअनुसार बन्दसत्र औपचारिक रूपमा अघि बढाइनेछ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रदेशबाट प्राप्त प्रतिनिधि नामावली रुजु गर्ने तथा परिचयपत्र छपाइको काम पूरा हुन ढिलाइ भएकाले समय तालिका परिमार्जन गर्नुपरेको हो। उनले सबै प्रक्रिया व्यवस्थित र पारदर्शी ढङ्गले सम्पन्न गर्न पार्टी प्रतिबद्ध रहेको बताए।
बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुने कार्यक्रम रहेको छ। अनुशासन आयोगका रमाकान्त रिमाल ले प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारी ले आर्थिक प्रतिवेदन पेश गर्नेछिन्। त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी ले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि सहमहामन्त्रीमार्फत पार्टीको विधानमाथि छलफल र अनुमोदन प्रक्रिया अघि बढाइनेछ। अन्त्यमा पार्टी सभापति रवि लामिछाने ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तथा अन्तरिम व्यवस्थापन समिति गठनसम्बन्धी घोषणा गर्ने सम्भावना रहेको छ।
महाधिवेशनको उद्घाटन आइतबार गेष्टहाउस चौरमा गरिएको थियो भने बन्दसत्रका कार्यक्रम उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।

