काठमाण्डौ । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको आरोप लगाउँदै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
उनले पक्राउ प्रक्रिया कानूनविपरीत भएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न आदेश दिन माग गरेकी हुन्।
रिट निवेदनमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सुर्खेत प्रहरीलाई विपक्षी बनाइएको छ।
निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने तय भएको छ।
यसअघि विशेष अदालतले मंगलबार पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको थियो।
उनी सोमबार सुर्खेतबाट पक्राउ परेका थिए र त्यसै राति स्थलमार्ग हुँदै काठमाडौं ल्याएर मंगलबार अदालतमा उपस्थित गराइएको थियो।

