काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान प्रक्रिया जारी रहेको छ।
पार्टीको नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण प्रक्रियाअन्तर्गत प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गरिरहेका छन्।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार केन्द्रीय समितिका ९९ सदस्य चयन गर्न शनिबार मध्यराति १२ बजेदेखि निरन्तर विद्युतीय मतदान शुरु गरिएको हो।
महाधिवेशनमा सहभागी देशभरका प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार असार ७ गतेदेखि शुरु भएको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आइतबार बिहान १० बजेसम्म सञ्चालन हुनेछ।
मतदान प्रक्रियाप्रति प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको आयोगले जनाएको छ।
बिहान ७ सम्ममा करिव २ हजार बढी प्रतिनिधिले मतदान गरिसकेको तथ्यांक सार्वजनिक गरिएको छ।
यस निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
विभिन्न भूगोल, पेशा, समुदाय तथा पार्टी संरचनाबाट प्रतिनिधित्व गर्ने आकांक्षासहित उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका हुन्।
उम्मेदवारको संख्या उल्लेख्य रहेकाले प्रतिस्पर्धा निकै रोचक र चासोको विषय बनेको छ।
निर्वाचन आयोगले मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र प्रारम्भिक मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकाले मतगणना प्रक्रिया छिटो र व्यवस्थित हुने विश्वास गरिएको छ।
यसअघि महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरिसकेको छ।
सभापतिमा लामिछानेको पुनर्निर्वाचनसँगै अब केन्द्रीय समितिको संरचना कस्तो बन्ने भन्ने विषयलाई पार्टीभित्र र बाहिरबाट चासोका साथ हेरिएको छ।
रास्वपाको स्थापना पछिको पहिलो महाधिवेशन भएकाले यसलाई पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व विकासका दृष्टिले महत्वपूर्ण मानिएको छ।
महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी निर्वाचन, संगठन विस्तार, नीति निर्माण तथा जनतामाझ पार्टीको उपस्थितिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले महाधिवेशनलाई संस्थागत विकासको महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
नयाँ नेतृत्व चयनसँगै रास्वपाले आगामी कार्यकालका लागि आफ्नो राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्ने विश्वास गरिएको छ।

