मंगलवार, श्रावण १२,२०८३ 11:45:10
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:45:10
Bizshala
Global IME Bank Limited

रास्वपाको नयाँ नेतृत्वमा लामिछाने पक्षको वर्चस्व, असिम शाह मात्रै फरक समूहबाट पदाधिकारीमा निर्वाचित

रास्वपाको नयाँ नेतृत्वमा लामिछाने पक्षको वर्चस्व, असिम शाह मात्रै फरक समूहबाट पदाधिकारीमा निर्वाचित
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न हुँदा अधिकांश प्रमुख पदमा सभापति रवि लामिछाने निकट नेताहरू निर्वाचित भएका छन्।  

पदाधिकारीका लागि भएको निर्वाचनमा असिम शाहबाहेक सबै निर्वाचित पदाधिकारी लामिछाने पक्षका रहेका छन्।

रास्वपाको संशोधित विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीसहित छ पदका लागि निर्वाचन गरिएको थियो।

यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूले पदाधिकारी चयनका लागि मतदान गरेका हुन्।

खुलातर्फ उपसभापति पदमा डा। स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।  

अर्थमन्त्रीसमेत रहेका वाग्ले लामो समयदेखि सभापति रवि लामिछानेका विश्वासपात्र नेताका रूपमा चिनिन्छन्।  

उनीविरुद्ध कुनै उम्मेदवारी नपरेपछि निर्विरोध रूपमा नेतृत्वमा पुगेका हुन्।

महिलातर्फ उपसभापति पदमा कानूनमन्त्री सोविता गौतम निर्वाचित भएकी छन्।  

उनले प्रतिस्पर्धी डा. तोषिमा कार्कीलाई पराजित गर्दै उपसभापतिको जिम्मेवारी हात पारेकी हुन्।  

पछिल्लो समय डा. कार्की प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निकट रहेको चर्चा भइरहेका बेला सोविताको जितलाई लामिछाने समूहको प्रभाव कायम रहेको संकेतका रूपमा हेरिएको छ।

महामन्त्री पदमा संस्थापक सदस्य विपिन आचार्य विजयी भएका छन्। 

रास्वपा गठन हुनुअघि देखि नै रवि लामिछानेसँग निकट सम्बन्ध रहेका आचार्य यसअघि सहमहामन्त्रीको जिम्मेवारीमा थिए।  

उनले महामन्त्री पदका लागि मनीष झा, सागर ढकाल र गणेश कार्कीसँग प्रतिस्पर्धा गरेका थिए।  

सागर ढकाल र गणेश कार्कीलाई प्रधानमन्त्री बालेन निकट समूहका उम्मेदवारका रूपमा हेरिएको थियो भने संस्थापनकालदेखि सक्रिय रहेका मनीष झा पछिल्लो समय सभापति लामिछानेसँग केही दूरीमा पुगेका नेता मानिन्छन्।

सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्।  

हरि ढकाल सभापति लामिछाने निकट मानिन्छन् भने असिम शाह बालेन समूहबाट विजयी हुने एकमात्र पदाधिकारी बनेका छन्।  

शाह हाल प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकारसमेत हुन्।

खुला सहमहामन्त्री पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तसहित धेरै उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

महिलातर्फ सहमहामन्त्री पदमा निशा डाँगी निर्वाचित भएकी छन्।  

उनले ७३७ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनीकुमारी चौधरीलाई पछि पारिन्।

डाँगी पनि सभापति लामिछाने पक्षकै नेतृका रूपमा चिनिन्छिन्।

निर्वाचनअघि सभापति रवि लामिछानेले सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्ने प्रयास गरेका थिए।  

तर, विभिन्न समूहबीच सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

पदाधिकारी निर्वाचनको नतिजाले रास्वपाको नयाँ नेतृत्वमा सभापति रवि लामिछानेको प्रभाव अझै मजबुत रहेको संकेत दिएको छ।  

असिम शाहबाहेक सबै प्रमुख पदमा लामिछाने पक्षका उम्मेदवार विजयी हुँदा पार्टीभित्र नेतृत्वको शक्ति सन्तुलन स्पष्ट रूपमा सभापति पक्षतर्फ देखिएको विश्लेषण गरिएको छ।

यद्यपि असिम शाहको विजयले पार्टीभित्र फरक धारको उपस्थिति कायम रहेको सन्देशसमेत दिएको छ।

महाधिवेशनबाट नयाँ केन्द्रीय समिति र पदाधिकारी चयन भएसँगै रास्वपाले अब संगठन विस्तार, आगामी निर्वाचनको तयारी तथा पार्टीको राजनीतिक कार्यदिशा तय गर्ने प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.