काठमाण्डौ । नेपालमा तीन महिनायता फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) अब केवल पशुजन्य रोगको समस्या मात्र रहेन, यो पोल्ट्री उद्योग, किसान, उपभोक्ता र खाद्य आपूर्ति प्रणालीलाई एकैसाथ असर पार्ने आर्थिक संकटका रूपमा विकसित हुन थालेको छ। राजधानी काठमाडौं उपत्यका नै संक्रमणको नयाँ केन्द्र (हटस्पट) बनेपछि सरकार, किसान र व्यवसायी सबै उच्च सतर्कतामा पुगेका छन्।
पशु सेवा विभागका अनुसार अहिले काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा मात्रै संक्रमण तीव्र गतिमा फैलिरहेको छ। पछिल्ला केही दिनमै १७ नयाँ स्थानमा संक्रमण पुष्टि भएसँगै यी चार जिल्लामा संक्रमित स्थानको संख्या ५७ पुगेको छ। देशभर भने ११ जिल्लाका ९९ स्थानमा संक्रमण पुष्टि भइसकेको छ।
भक्तपुर सबैभन्दा ठूलो ‘हटस्पट’
सबैभन्दा बढी प्रभावित जिल्ला भक्तपुर बनेको छ। यहाँ मात्रै २५ स्थानमा संक्रमण देखिएको छ भने चाँगुनारायण, सूर्यविनायक र मध्यपुर थिमी क्षेत्र सबैभन्दा जोखिममा छन्। काठमाडौंका कीर्तिपुर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहरालगायत १५ स्थान तथा ललितपुरका १२ स्थानमा पनि संक्रमण फैलिएको छ। काभ्रेको बनेपा र पनौतीका व्यावसायिक फार्मसमेत प्रभावित भएका छन्।
काग बने संक्रमणको ‘सुपर स्प्रेडर’
पशु सेवा विभागले यसपटकको संक्रमणको सबैभन्दा ठूलो कारण किसानको लापरबाही र कागलाई मानेको छ।
संक्रमित भएर मरेका कुखुरा जथाभावी फ्याँक्दा कागले ती सिनो खाएर अर्को स्थानमा पुग्ने र त्यहीँबाट भाइरस फैलाउने क्रम तीव्र बनेको विभागको निष्कर्ष छ। कुकुरले समेत संक्रमित सिनो विभिन्न स्थानमा पुर्याउँदा संक्रमण नियन्त्रण झन् कठिन भएको छ।
वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार अहिले स्थानीयस्तरमा पालिएका लोकल कुखुरामा संक्रमण फैलिएकाले व्यावसायिक फार्ममा जस्तो ‘मुभमेन्ट कन्ट्रोल’ गर्न सम्भव छैन। यदि संक्रमित स्रोत तत्काल नष्ट गर्न नसकिए भाइरसले नयाँ स्वरूप (म्युटेसन) लिन सक्ने र भविष्यमा मानिसबाट मानिसमा समेत सर्ने जोखिम बढ्न सक्ने चेतावनी उनले दिएका छन्।
६ लाखभन्दा बढी कुखुरा मारियो, क्षति अर्ब नाघ्यो
संक्रमण नियन्त्रणका लागि सरकारले अहिलेसम्म देशभर ६ लाख ६ हजार ७५८ वटा कुखुरा, करिब १० लाख अण्डा र १ लाख ९५ हजार ५९५ किलो दाना नष्ट गरिसकेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामै करिब डेढ लाख कुखुरा नष्ट भएका छन्।
सरकारले राहतका लागि प्रारम्भिक रूपमा ५२ करोड रुपैयाँ व्यवस्था गरे पनि वास्तविक क्षति भने धेरै ठूलो देखिएको छ।
पशु सेवा विभागको प्रारम्भिक मूल्यांकनअनुसार प्रत्यक्ष क्षति ६९ करोड रुपैयाँभन्दा बढी पुगेको छ। तर विभागकै विश्लेषणले नष्ट गरिएका कुखुरा, अण्डा, दाना तथा उत्पादन चक्र रोकिनु, बजार बिक्री घट्नु र व्यवसायिक नोक्सानी जोड्दा किसानको कुल लगानीमा एक अर्ब रुपैयाँभन्दा बढी असर परेको देखाएको छ।
७५ प्रतिशत मात्रै राहत, बाँकी घाटा किसानकै काँधमा
सरकारको विद्यमान व्यवस्थाअनुसार किसानले क्षतिको ७५ प्रतिशत मात्रै राहत पाउँछन्। त्यसका लागि अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ रकमान्तर गरी विभागमा पठाइसकेको छ। विभागसँग रहेको २ करोड जोड्दा अहिले ५२ करोड रुपैयाँ राहत वितरणको तयारी गरिएको छ।
हालसम्म ११ जिल्लाका करिब १०० किसानले आवश्यक कागजात बुझाइसकेका छन्। राहत मोरङबाट सुरु गरी क्रमशः अन्य जिल्लाका किसानको बैंक खातामा सिधै रकम पठाइने विभागले जनाएको छ। अहिले अपुग हुने राहत आगामी आर्थिक वर्षको सुरुमै उपलब्ध गराउने तयारी पनि सरकारको छ।
कुखुराको मासु बजारमा ‘शक’, बिक्री ३० प्रतिशतसम्म घट्यो
संक्रमणसँगै बजारमा डर पनि फैलिएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा कुखुराको मासुको बिक्री २० देखि ३० प्रतिशतसम्म घटेको छ।
सामान्य अवस्थामा दैनिक करिब ३ लाख किलो मासु बिक्री हुने बजार अहिले २ लाखदेखि २ लाख ४० हजार किलोमा सीमित भएको छ। अर्थात् दैनिक करिब ६० हजार किलो मासुको बजार हराएको छ।
कतिपय खुद्रा पसलमा बिक्री ७० प्रतिशतसम्म घटेको व्यवसायीको दाबी छ। यसको प्रत्यक्ष फाइदा भने खसीको मासुलाई पुगेको छ। माग बढेपछि जिउँदो खसीको मूल्य प्रतिकिलो ८५० रुपैयाँसम्म पुगेको छ भने मासुको खुद्रा मूल्य पनि बढेको छ।
तर, पकाएर खाँदा जोखिम छैन
स्वास्थ्य तथा पशु सेवा विज्ञहरूले भने उपभोक्तालाई अनावश्यक त्रसित नहुन आग्रह गरेका छन्।
कम्तीमा ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा राम्रोसँग पकाइएको कुखुराको मासु वा अण्डाबाट बर्डफ्लु सर्ने सम्भावना नरहेको उनीहरूको भनाइ छ। तर काँचो मासु सम्हाल्दा सरसफाइ, छुट्टै चक्कु र भाँडा प्रयोग तथा राम्रोसँग पकाएर मात्रै सेवन गर्नुपर्ने सुझाव दिइएको छ।
अहिले कहाँ छ जोखिम ?
पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, चितवन, बारा, महोत्तरी र नवलपरासी पश्चिममा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक अझै उच्च जोखिममा छन्। विभागले किसानलाई बायोसेक्युरिटी कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानी साधन निसंक्रमण गर्न, काग तथा जंगली चराचुरुङ्गीबाट कुखुरा जोगाउन तथा कुनै पनि अस्वाभाविक मृत्यु देखिए तत्काल सरकारी पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

