काठमाण्डौ । काठमाडौं उपत्यकामा महिलाको सुरक्षित सार्वजनिक यातायात सुनिश्चित गर्ने उद्देश्यले आगामी साउन १ गतेदेखि ‘ब्लु बस’ सेवा सञ्चालनमा आउने भएको छ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्ययोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा ८ वटा ब्लु बस सञ्चालन गर्ने तयारी गरिएको हो। दीर्घकालीन योजनाअनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याइने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार बस सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा आवश्यक राय–सहमतिका लागि प्रस्ताव पठाइसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा औपचारिक रूपमा सुरु गरिनेछ।
पहिलो चरणमा लगनखेल–बुढानीलकण्ठ र थानकोट–नागढुंगा–विमानस्थल रुटमा दुई–दुई वटा बस सञ्चालन गरिनेछ। त्यसैगरी चक्रपथ क्षेत्रमा चार वटा बस चलाइनेछन्, जसमा दुई वटा घडीको दिशामा र दुई वटा घडीको विपरीत दिशामा सञ्चालन हुनेछन्।
सरकारले यो सेवा महिलामैत्री र सुरक्षित सार्वजनिक यातायातको अभ्यासका रूपमा सुरु गर्न लागेको जनाएको छ। सफल कार्यान्वयन भए देशका सातै प्रदेशमा समेत यस्तो सेवा विस्तार गर्ने योजना रहेको छ।

