काठमाण्डौ। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा सरकारका तर्फबाट विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।
कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२’ प्रतिनिधिसभामा पेस गर्नेछिन्। साथै, उनले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२’ पनि सदनसमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।

