काठमाण्डौ । सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले आज पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास अधिकार, सम्मानजनक आवास तथा गास, बास र कपासको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले सरकारले पटक–पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुनबमोजिम दिगो, न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्नुपर्ने बताएका छन्।
पुनर्स्थापना गर्नुपर्ने अवस्था आए घर भत्काइएको स्थानमै वा कानुनबमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहित स्थायी व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।
प्रदर्शनमा सहभागीहरूले ‘बोल्न दे’, ‘मानव अधिकारको प्रत्याभूति गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

