काठमाण्डौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न सरकारी निकायका वार्षिक प्रतिवेदन पेस गर्ने तथा अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धिमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१/८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१/८२ र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१/८२ पेस गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धिसम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि छलफल गरी अनुमोदनका लागि प्रक्रिया अघि बढाइनेछ।
मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धिमाथि सामान्य छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।