काठमाडौं, २६ असार । नयाँ आर्थिक वर्षको लगत सार्ने प्रक्रियाका कारण सर्वोच्च अदालतको नियमित सुनुवाइ साउन १ गतेदेखि ११ दिनसम्म प्रभावित हुने भएको छ।
सर्वोच्च अदालत प्रशासनका अनुसार साउन ११ गतेदेखि मात्र नियमित सुनुवाइ पुनः सुरु हुनेछ। प्रत्येक नयाँ आर्थिक वर्षको सुरुवातमा पुराना मुद्दाको लगत नयाँ आर्थिक वर्षमा सार्ने प्रचलनअनुसार नियमित सुनुवाइ स्थगित गर्न लागिएको हो।
यसअघि लगत सार्ने क्रममा दुई सातासम्म नियमित सुनुवाइ रोकिने गरेको थियो। यस वर्ष भने उक्त अवधि घटाएर ११ दिन कायम गरिएको सर्वोच्च अदालतले जनाएको छ।
नियमित सुनुवाइ प्रभावित भए पनि यस अवधिमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा तथा केही अत्यावश्यक र विशेष प्रकृतिका निवेदनमाथि भने सुनुवाइ जारी रहनेछ।

