काठमाण्डौ । ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गेनका लागि उडेको र्यानएयरको बोइङ ७३७ विमानमा शुक्रबार बिहान एक डरलाग्दो घटना भएको छ। विमान करिब २० हजार फिटको उचाइमा उडिरहेका बेला इन्जिनमा समस्या आएपछि त्यसबाट निस्किएको टुक्रा ठोक्किँदा एउटा यात्रु झ्यालबाट बाहिरतर्फ तानिएका थिए।
घटनामा ६१ वर्षीय सर्बियाली नागरिकको टाउको र काँधसम्मको भाग विमानको झ्यालबाहिर पुगेको बताइएको छ। विमानभित्र रहेका अन्य यात्रुका अनुसार, इन्जिनको भाग फुटेर आएको अवशेषले झ्यालको सिसा फुटाएपछि अचानक क्याबिनमा हावाको दबाब घटेको थियो र यात्रुहरूबीच त्रास फैलिएको थियो।
उक्त समयमा ती यात्रुले सिटबेल्ट लगाइरहेका कारण उनी पूर्ण रूपमा विमानबाट बाहिर खस्नबाट जोगिएको बताइएको छ। उनकी श्रीमतीले करिब पाँच मिनेटसम्म उनलाई समातेर राखेकी थिइन्। अन्य यात्रुहरूले पनि उनलाई भित्र तान्न सहयोग गरेका थिए।
एक यात्रुले ग्रीक सञ्चारमाध्यम ईआरटीसँग कुरा गर्दै ती पुरुषको टाउको र काँध झ्यालबाट बाहिर देखिएको बताएका छन्। घटनापछि विमानभित्र अक्सिजन मास्कहरू झरेका थिए भने झ्यालमा ठूलो क्षति पुगेको दृश्य सार्वजनिक भएको छ।
एक महिला यात्रुले रेडियो थेसालोनिकीसँग कुरा गर्दै विमानमा ठूलो आवाज आएपछि यात्रुहरूबीच चिच्याहट र भागदौड मच्चिएको बताइन्। उनले विमानले अचानक उचाइ गुमाउँदा सबै यात्रुहरू निकै डराएको उल्लेख गरिन्।
रायनएयरले जारी गरेको विज्ञप्तिअनुसार, उडानका क्रममा यात्रु झ्याल विस्थापित भएपछि विमान थेसालोनिकी फर्किएको जनाएको छ। विमान सामान्य रूपमा सुरक्षित अवतरण गरेको र एक यात्रुले चिकित्सकीय सहायता लिएको कम्पनीले बताएको छ।
विमान बिहान ५ बजेर ५५ मिनेटमा ग्रीसको म्यासेडोनिया विमानस्थलबाट उडेको थियो। घटनापछि विमान थेसालोनिकी फर्काइएको थियो र यात्रुहरूलाई बिहान ९ बजेर ५३ मिनेटमा अर्को विमानमार्फत गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको थियो।
घटनाबारे सम्बन्धित निकायहरूले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

