काठमाण्डौ । नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने भएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले यसबारे जानकारी दिएका हुन् ।
कार्कीले उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको जानकारी दिए । सो अवधिसम्म सहभागी संख्या ६ हजार एक सय १० पुगेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगरामा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेट्ने गरी कार्य सुरु गरेको कार्यकारी निर्देशक कार्कीले बताए ।
यस योजनामा आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको छ ।
यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको छ ।
पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् ।
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोषले अवकाश कोष व्यवस्थापन गरी सामाजिक सुरक्षा सम्बन्धी राम्रा कार्यक्रम सञ्चालनमा ल्याएकोले ती कार्यक्रममा सहभागी बन्न सबैलाई आग्रह गरे । उनले कोषले सहभागीहरुलाई प्रदान गर्ने सेवा सुविधा थप गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्नु पर्नेमा जोड समेत दिए ।
कार्यक्रममा कोषका उप निर्देशक नारायण प्रसाद घिमिरेले नागरिक पेन्सन योजनाका बारेमा कार्यपत्र पेश गरेका थिए भने कोषको विराटनगर कार्यालयका उप–निर्देशक तारानाथ भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                