काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पछिल्लो वार्तामा सम्झौता भएको दाबी गरेपछि दुई देशबीचको कूटनीतिक विवाद थप चर्किएको छ। ट्रम्पले आइतबार एनबीसीसँग कुरा गर्दै इरानले अमेरिकासँग ‘पूर्ण सम्झौता’ स्वीकार गरेको र त्यसमा आणविक कार्यक्रमलगायत अन्य विषयमा कुनै छुट नदिएको बताएका थिए।
तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले ट्रम्पको दाबीलाई ‘पूर्ण रूपमा असत्य’ भन्दै खण्डन गरेका छन्। उनका अनुसार शनिबार ओमानमा भएको अमेरिका–इरान बैठकमा कुनै व्यापक सम्झौता नभई केवल स्ट्रेट अफ हर्मुजसम्बन्धी विषयमा मात्र छलफल भएको थियो।
बघाईले मध्यस्थकर्ताहरूले अमेरिका र इरानबीच संवाद जारी राख्न प्रयास गरिरहेको बताए पनि वार्ता संकटमा प्रवेश गरेको बताएका छन्। उनले अमेरिकाले सम्झौताका प्रतिबद्धता पूरा नगरेसम्म इरानले पनि आफ्ना दायित्व कार्यान्वयन नगर्ने चेतावनी दिए।
इरानी अधिकारीका अनुसार देशले सञ्चालन गरेका रक्षात्मक आक्रमणहरू केवल इरानमाथि हमला गर्न प्रयोग भएका अमेरिकी सैन्य आधार र संरचनाहरूलाई लक्षित गरिएको हो। बघाईले इरान आफ्नो आत्मरक्षाका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताए।
स्ठ्रेट अफ हर्मुज विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक हो। पछिल्लो तनावका कारण यस क्षेत्रमा पानीजहाज आवागमनमा ठूलो असर परेको छ। जहाज ट्र्याकिङ तथ्यांकले केही समयदेखि उक्त मार्ग हुँदै आवतजावतमा कमी देखाएको छ।
इरानले १७ जुनमा भएको १४ बुँदे समझदारीको कार्यान्वयन अमेरिकाको प्रतिबद्धतामा निर्भर रहने बताएको छ। तेहरानको भनाइमा अमेरिका सम्झौताअनुसार अघि नबढे इरानले पनि आफ्ना प्रतिबद्धता पूरा गर्ने छैन।

